काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार वृद्धि हुँदै गएको छ। मंगलबार पनि सुनको मूल्य उल्लेख्य रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन प्रतितोला चार हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन अर्थात् सोमबार पनि सुन दुई हजार नौ सय रुपैयाँले बढ्दै दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा पुगेको थियो।
केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको तीव्र वृद्धि स्थानीय बजारमा पनि प्रतिबिम्बित भएको महासंघको भनाइ छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यससँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रुपैयाँले बढेर तीन हजार एक सय सत्तरी रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य तीन हजार पैंसठ्ठी रुपैयाँ प्रतितोला रहेको थियो।
सुन–चाँदीको मूल्यमा देखिएको निरन्तर वृद्धि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको अस्थिरता, अमेरिकी अर्थतन्त्रका सूचकहरू र मध्यपूर्वको भू–राजनीतिक तनावसँग पनि जोडिएको विश्लेषकहरूको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।