लोड हुँदैछ...

मेनु

आज र भोलि २३ जिल्लामा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

आज र भोलि २३ जिल्लामा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

विराटनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका २३ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जामा आगामी दुई दिन बाढीको उच्च जोखिम रहनेछ।

यी जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न तथा परिस्थितिअनुसार जुनसुकै बेला पनि सवारी आवागमन बन्द हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै आगामी दुई दिन सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।