विराटनगर । दुई दिनदेखिको अविरल वर्षाले मेची राजमार्गसहितका सबै वैकल्पिक मार्गहरू अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङको तराईसँगको सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ। सडक संजाल भत्किँदा र डाइभर्सनहरू बाढीले बगाउँदा यी तीन जिल्ला अहिले ‘नाकाबन्दी’ जस्तै अवस्थामा पुगेका छन्।
मेची राजमार्गको मेरुदण्ड मानिने इलामको राजदुवाली खण्ड चार दिनदेखि नै जोखिममा थियो। सोमबार सडक थप भासिएपछि साना-ठूला सबै सवारीसाधन ठप्प भएका छन्। राजमार्ग अवरुद्ध भएपछि प्रयोगमा ल्याइएको सिमलगोलाई–तिल्केनी वैकल्पिक मार्ग पनि जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि बन्द भएको छ। यस्तै, झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले यातायात सञ्चालन असम्भव बनेको छ।
सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा र जोगमाई खोलामा राख्ने भनिएको बेलीब्रिज भारतबाट आइपुग्न ढिलाइ हुँदा संकट झन् गहिरिएको हो। सडक अवरुद्ध भएसँगै माइखोला पारि ठूलो संख्यामा मालवाहक ट्रकहरू अलपत्र परेका छन्।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री बोकेका ट्रकहरू बीच बाटोमै रोकिँदा सामग्री बिग्रने र बजारमा अभाव हुने जोखिम बढेको छ। अब महँगो ढुवानी खर्च खर्चेर ‘तमोर करिडोर’ प्रयोग गर्नुको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ।
अहिले बिरामी र अत्यावश्यक काममा हिँडेका यात्रुहरू ज्यान जोखिममा राखेर पहिरो प्रभावित राजदुवाली खण्ड पैदलै पार गर्न बाध्य छन्। पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन नै काटिएपछि जनजीवन कष्टकर बनेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।