लोड हुँदैछ...

मेनु

सीआईबीको फन्दामा गिरी, किन लगियो रातारात काठमाडौं ?

सीआईबीको फन्दामा गिरी, किन लगियो रातारात काठमाडौं ?

विराटनगर । जिल्ला अदालत मोरङबाट हाजिरी जमानीमा छुट्ने आदेश पाएपछि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन् ।

सोमबार जिल्ला अदालत मोरङले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको भएपनि गिरीलाई राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लगेको छ।

मोरङमा अनुसन्धानको चरण टुंगिनैलाग्दा सीआईबीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी छुट्टै मुद्दामा पक्राउ अनुमति लिएर गिरीलाई काठमाडौं लगेको हो । अब उनको आर्थिक कारोबार, सम्पत्ति आर्जन र व्यापारीसँगको लेनदेनमाथि गहिरो अनुसन्धान सुरु हुने सिआइबीले जनाएको छ ।

सीआईबीका अनुसार गिरीमाथि करोडौं रुपैयाँ बराबरको आर्थिक कारोबारमा ठगी र विश्वासघात गरेको आरोप छ। प्रारम्भिक अनुसन्धानमा उनले ४ करोड २४ लाख रुपैयाँमा घरजग्गा खरिद गरी श्रीमतीको नाममा नामसारी गरेको, एक ठेकेदारबाट ४ करोड रुपैयाँको चेक लिएर उनको गाडी तथा डोजर आफ्नो नियन्त्रणमा राखेको उजुरी छ ।

पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन् । गिरीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतलबाट सिआईबीले पक्राउ पुर्जी लिएको बताइएको छ ।

सोमबार साँझ विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत गिरीलाई काठमाडौं लगिएको थियो। विमानस्थलमा उनले प्रहरीमाथि आफूलाई कुटपिट गरेको र यातना दिएको आरोप लगाउँदै हारगुहार गरेका थिए । उनले आफ्नो हत्या गर्ने षड्यन्त्र भइहरेको पनि जिकिर गरेका थिए । प्रहरीले भने त्यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

मोरङ प्रहरीले गिरीलाई असार १३ गते नियन्त्रणमा लिएर आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका लागि म्याद थप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएपनि न्यायाधीश टंकबहादुर महतको इजलासले म्याद थप अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो।

त्यसअघि गिरीको परिवारले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले यसअघि अनुसन्धान पाँच दिनभित्र टुंग्याउन आदेश दिएको थियो । त्यहि अनुसार जिल्ला अदालतले म्याद थप गर्न अस्वीकार गरेर थुनामुक्त गर्न आदेश गरेपनि अदालतबाट छुट्नेबित्तिकै सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार ठगी र आपराधिक विश्वासघातसम्बन्धी अनुसन्धानका लागि सीआईबीले गिरीलाई काठमाडौं लगेको हो। सीआईबीले अनुसन्धान गरिरहेको मुख्य विषय गिरीको आर्थिक कारोबार हो । अनुसन्धानमा चार करोडभन्दा बढी मूल्यको घरजग्गा खरिद, ठूलो रकमको चेक कारोबार तथा व्यवसायीको सवारीसाधन कब्जामा लिएको आरोपमाथि अनुसन्धान भइहरेको छ ।

गिरीको सम्पत्तिको स्रोत, बैंकिङ कारोबार र अन्य आर्थिक गतिविधिसमेत अनुसन्धानको दायरामा छ। गिरीको नाम मोरङमा लामो समयदेखि आपराधिक गतिविधिसँग जोडिँदै आएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद भुक्तान गरेका उनी २०७९ चैत ५ गते जेलमुक्त भएका थिए।

कारागारमा रहँदा समेत उनको प्रभाव कायम रहेको आरोप लाग्दै आएको थियो। मोरङ कारागारमा चौकीदारको भूमिकामा रहेका बेला कैदीबन्दीमाथि कुटपिट, रकम असुली र कारागारभित्रै समूह सञ्चालन गरेको आरोपपछि २०७४ चैतमा उनलाई डिल्लीबजार कारागार सरुवा गरिएको थियो।

राजनीतिक पहुँच प्रयोग गरेर उनी २०७८ मा मोरङ कारागार नै फर्किएका थिए । त्यसबेला कैदीबन्दीले असुरक्षा हुने भन्दै विरोध गरेका थिए। त्यसक्रममा कारागारभित्र दुई समूहबीच भएको हिंसात्मक झडपमा एक कैदीको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।

जेलबाट मुक्त भएपछि गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। पछिल्लो समय उनी विराटनगरका विभिन्न राजनीतिक कार्यक्रममा देखिन थालेका थिए। उनी गत फागुन २१ गतेको निर्वाचनमा मोरङ क्षेत्र नं. ४ का उम्मेदवार रहेका काँग्रेस महामन्त्री गुरुराज घिमिरेका मुख्य सहयोगीको रुपमा देखिएका थिए । घिमिरेका हरेक कार्यक्रममा उनी अगुवाको रुपमा उपस्थित हुन्थे ।

प्रहरीका अनुसार जेलबाट छुटेर काँग्रेस राजनीतिमा सक्रिय भएपनि गिरीले आफ्नो आपराधिक गतिविधि निरन्तर सञ्चालन गरेको पाइएको छ । कारागारभित्र कैदीबन्दीले कपडाको लागि पाउने लाखौं रकम उनले असुलेको प्रमाणित भइसकेको प्रहरीले जनाएको छ । यस्तै, कैदीबन्दीले बनाएको मुढा बिक्रीको रकम ब्यापारीबाट सिधै गिरीको खातामा आएको देखिएको प्रहरीले जनाएको छ ।

गिरीले कारागारको मेस (भान्सा) मा हुने खाद्यान्न आपूर्तिमा समेत उनको सिन्डिकेट चलाइएको प्रहरीको भनाइ छ । प्रहरीले गिरीको घर खानतलासी गर्दा पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो ।

सीआईबीले भने गिरीमाथिको अनुसन्धान केवल ठगी र आपराधिक विश्वासघातमा सीमित नरहन सक्ने संकेत दिएको छ। आर्थिक कारोबार, सम्पत्ति आर्जनको स्रोत, अन्य व्यक्तिसँगको लेनदेन तथा संगठित रूपमा आर्थिक अपराध भएको वा नभएको विषयमा समेत अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।