विराटनगर । मोरङको उर्लाबारीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै दुई जना साना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
प्रहरीले बालबालिकाको उद्धार गरी आरोपितमाथि कानुनी अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार राति करिब ८ बजे उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो। दुवै बालबालिका उर्लाबारी–३ निवासी दुखीलाल उराउका छोरा र छोरी हुन्।
प्रहरीका अनुसार झापाको शिवसताक्षी नगरपालिका–३ निवासी २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीले मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेका थिए। बालबालिकालाई बाँधेर यातना दिइएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर भण्डारीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले तत्काल डोरी खोलेर दुवै बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालबालिकाको खुट्टामा सामान्य निलडाम देखिएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
घटनामा संलग्न आरोपित कार्की र बुढाथोकीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा रहेको टोलीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डीएसपी श्रेष्ठले चोरीको आशंका भए पनि कानुन हातमा लिएर कसैलाई दुर्व्यवहार वा यातना दिन नपाइने स्पष्ट पार्दै विशेषगरी बालबालिकामाथि गरिएको यस्तो व्यवहार गम्भीर कानुनी अपराध भएको बताए।
‘कसैमाथि चोरीको आशंका भए पनि कानुन हातमा लिएर दुर्व्यवहार वा यातना दिन पाइँदैन। त्यसमाथि साना बालबालिकालाई बाँधेर यातना दिइएको छ। घटनाका सबै पक्षबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी श्रेष्ठले भने।
प्रहरीले घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।