लोड हुँदैछ...

मेनु

अभिषेक गिरी र सन्जय मण्डलको नेक्सस : काँग्रेस सभापति मण्डलको खातामा भेटियो ४ लाख ४९ हजार

अभिषेक गिरी र सन्जय मण्डलको नेक्सस : काँग्रेस सभापति मण्डलको खातामा भेटियो ४ लाख ४९ हजार

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको भत्ता, श्रमको पारिश्रमिक र खाद्यान्न समेत असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीका सहयोगी काँग्रेसका वडा सभापति सन्जय कुमार मण्डलमाथि प्रहरीले ‘अपराधीक विश्वासघात’ मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

नेपाली कांग्रेस कटहरी गाउँपालिका–२ का वडा सभापतिसमेत रहेका मण्डलको बैंक खातामा कैदीबन्दीकै श्रमको ठूलो रकम जम्मा भएको देखिएपछि मोरङ प्रहरीले उनीमाथि अनुसन्धान तीव्र पारेको हो ।

मण्डललाई प्रहरीले गत सोमबार ‘अभद्र व्यवहार’को मुद्दामा पक्राउ गरेको थियो । गिरीलाई विराटनगरस्थित कोशी अस्पतालबाट डिस्चार्ज गरी हिरासत लैजाने क्रममा प्रहरीविरुद्ध नाराबाजी र होहल्ला गरेपछि उनीसहित दुई जना समातिएका थिए । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ हजार रुपैयाँ धरौटीमा छुटेका मण्डललाई गेटबाटै पुनः नियन्त्रणमा लिएर अपराधी विश्वासघात मुद्दा चलाइएको मोरङ प्रहरीका एसपी कवित कटुवालले जानकारी दिए ।

‘अभिषेक गिरीको सहयोगी भई कैदीबन्दीको रकम असुलीमा मण्डलको प्रत्यक्ष संलग्नता देखिएको छ,’ एसपी कटुवालले भने, ‘हामीले नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेका छौँ, अन्य तथ्यहरू पनि खुल्दै जानेछन् ।’

खातामा ४ लाख ४९ हजार ३६० रुपैयाँ
हाम्रोमतलाई प्राप्त विवरणअनुसार अभिषेक गिरीले भनेबमोजिम सन्जय कुमार मण्डलको सिटीजन्स बैंकको खाता नम्बरमा ४ लाख ४९ हजार ३६० रुपैयाँ जम्मा भएको पाइएको छ । सन् २०२६ जुन ११ मा उक्त रकम अभिषेक साहले जम्मा गरिदिएको बैंक भौचरबाट देखिन्छ ।

गिरी र मण्डल पछिल्लो समय सँगै ठेक्का पट्टा पनि गर्दै आएका थिए । यो रकम मोरङ कारागारभित्र कैदीबन्दीले बुनेका मुडा बिक्री र गर्मी भत्ताबापतको असुली भएको कारागारको ‘ए ब्लक’ आन्तरिक प्रशासनको दाबी छ । रकम जम्मा गर्ने साहले नै अभिषेक गिरीको नाममा रहेको एनएबी बैंकको खातामा समेत पटक–पटक ठूलो रकम पठाएको खुलेको छ । साहले २०२६ अप्रिल ३ मा ४ लाख ११ हजार ३८० र सोही वर्षको मार्च २२ मा ४ लाख ४९ हजार रुपैयाँ गिरीको खातामा जम्मा गरिदिएको प्रमाण हाम्रोमतसँग सुरक्षित रहेको छ । यस विषयमा साहले अनुसन्धान गर्ने निकायमा बोलिसकेको भन्दै अहिले थप प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ‘अहिले भन्ने ठाउँमा सबै कुरा भनिसकेको छु,’ उनले भने, ‘अहिलेलाई म यतिनै भन्छु ।’

कैदीको श्रमबाट वार्षिक २ करोडको ‘ब्रह्मलुट’
मोरङ कारागारमा रहेका १ हजार १९९ कैदीबन्दीमध्ये करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । उनीहरूले दिनभर श्रम गरेर तयार पारेका सामग्री काठमाडौँ र चितवनका बजारमा पुग्छन् । तर, ती सामग्रीको भुक्तानी भने व्यापारीहरूले सिधै गिरीको व्यक्तिगत खातामा पठाइदिने गरेको खुलेको छ ।

कारागार प्रशासनका अनुसार महिनामा एक ट्रक मुडा बिक्री हुँदा ३ देखि ४ लाख रुपैयाँ संकलन हुन्थ्यो । यसरी वार्षिक करिब २ करोड रुपैयाँ कैदीबन्दीको श्रमको कमाइ गिरी र उनको समूहले कब्जा गर्ने गरेको पाइएको छ ।

असार १२ गते (शुक्रबार) मोरङ कारागारको ‘बल्क बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई जनही २५ सयका दरले १३ लाख ६० हजार रुपैयाँ भत्ता वितरण गरिएको थियो । तर, रकम बुझेको केही घण्टाभित्रै गिरीका सहयोगी र केही नाइकेहरूले जबरजस्ती सो रकम संकलन गरी गिरीसम्म पुर्‍याएको आरोप छ ।

प्रहरीका अनुसार यो असुलीमा मण्डलसँगै विनोद सिंह, तरकारी आपूर्तिकर्ता विजय कामत र केही कारागार कर्मचारीको समेत संलग्नता देखिएको छ । सोही सूचनाका आधारमा प्रहरीले असार १३ गते गिरीलाई विराटनगर–८, मधुमारास्थित निवासबाट पक्राउ गरेको थियो । गिरीको घर खानतलासी गर्दा प्रहरीले पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो । मण्डल पक्राउ परेसँगै यो गिरोहका अन्य सदस्यहरूमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।