लोड हुँदैछ...

मेनु

अभिषेक गिरीका सहयोगी सन्जय मण्डलसहित तीन जना हिरासतबाहिरै राखेर अनुसन्धान

अभिषेक गिरीका सहयोगी सन्जय मण्डलसहित तीन जना हिरासतबाहिरै राखेर अनुसन्धान

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुलेको आरोपमा पक्राउ परेका अभिषेक गिरीका सहयोगीसहित तीन जनालाई हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाइएको छ।

गिरी पक्राउ परेपछि प्रहरीले उनका सहयोगी नेपाली कांग्रेस कटहरी–२ का वडा सभापति सन्जयकुमार मण्डल, विजय कामत र विनोद सिंहलाई पक्राउ गरेको थियो। आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरूलाई मोरङ अदालतको आदेशपछि हाजिर जमानीमा छाडिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले उनीहरूलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाइएको बताए। ‘घटनाको अनुसन्धान प्रक्रिया जारी छ,’ उनले भने। प्रहरीले अब अनुसन्धान सकेर अभियोग बुझाउँदा उनीहरुलाई अदालतमा उपस्थित गराउनुपर्दछ । अदालतमा अभियोग दर्ता भएपछिछ थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले धरौटिमा, साधरण तारेख र पुर्वपक्षको लागि थुनामा पठाउने मध्ये एउटा आदेश गर्दछ ।

मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा गिरी असार १३ गते विराटनगर–८ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए। असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकटका व्यक्तिमार्फत पुनः संकलन गरी आफूले लिएको आरोपमा प्रहरीले उनीमाथि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो।

त्यसपछि मण्डल र कामत पक्राउ परेका थिए।

मण्डललाई प्रहरीले असार १५ गते अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरेको थियो। गिरीलाई विराटनगरस्थित कोशी अस्पतालबाट डिस्चार्ज गरी हिरासतमा लैजाने क्रममा प्रहरीविरुद्ध नाराबाजी र होहल्ला गरेको आरोपमा मण्डलसहित दुई जना पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय मोरङले असार १८ गते मण्डललाई ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो। तर, कारागारको गेटबाटै उनलाई पुनः नियन्त्रणमा लिएर आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।

हाम्रोमतलाई प्राप्त विवरणअनुसार गिरीको निर्देशनमा मण्डलको सिटिजन्स बैंकको खातामा ४ लाख ४९ हजार ३६० रुपैयाँ जम्मा भएको देखिएको छ। २०२६ जुन ११ मा अभिषेक साहले उक्त रकम जम्मा गरिदिएको बैंक भौचरबाट देखिन्छ। गिरी र मण्डल पछिल्लो समय ठेक्कापट्टाको काममा समेत सँगै संलग्न रहेको बताइएको छ।

यसैबीच, उच्च अदालत विराटनगरले गिरीको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान टुंग्याउन वा अनुसन्धान पूरा नभए उनलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन असार १७ गते आदेश दिएको थियो।

तर, प्रहरीले असार २२ गते संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा म्याद थपका लागि गिरीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो। अदालतले म्याद थप गर्न अस्वीकार गर्दै उच्च अदालतको आदेशअनुसार हाजिर जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

गिरी भने तत्काल रिहा भएनन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो। जिल्ला अदालतको आदेशबाट छुटेलगत्तै मोरङ प्रहरीले गिरीलाई पुनः नियन्त्रणमा लिएर विराटनगरबाट काठमाडौं पठाएको थियो।

हाल गिरीमाथि सीआईबीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds