लोड हुँदैछ...

मेनु

रामधुनी नगरपालिकाका मेयरका छोरा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर

रामधुनी नगरपालिकाका मेयरका छोरा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर

इटहरी । रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरीका छोरा तथा पूर्वइन्जिनियर देवेन्द्रनारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

विशेष अदालतले असार ३० गते भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अन्तर्गत उनलाई कसुरदार ठहर गर्दै ६ महिना कैद र १० हजार रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएको हो।

अदालतका अनुसार चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ। भारतको आन्ध्र प्रदेशस्थित सिद्धार्थ रेसिडेन्सियल स्कुलबाट अध्ययन गरेको र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) बाट जारी भएको भनिएको अङ्क विवरण (मार्कसिट) वास्तविक नभएको प्रमाणबाट खुलेको फैसलामा उल्लेख छ।

झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसुर ठहर गर्दै अदालतले चौधरी यसअघि कुनै आपराधिक कसुरमा संलग्न नभएको देखिएकाले कानुनले व्यवस्था गरेको न्यूनतम सजाय निर्धारण गरेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। आयोगका अनुसार चौधरीले आफ्नो फाइदाका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी सरकारी सेवामा प्रवेश गरेका थिए।

देवेन्द्रनारायण चौधरी आर्थिक वर्ष २०७३/०७४ देखि २०७९/०८० सम्म रामधुनी नगरपालिकामा इन्जिनियरका रूपमा कार्यरत थिए। नगरपालिकाबाट राजीनामा दिएपछि उनी हाल सुनसरीको जनता माध्यमिक विद्यालय, सिङ्गियामा शिक्षकका रूपमा कार्यरत छन्। विद्यालयमा उनको नियुक्ति पनि नगरप्रमुख शङ्करलाल चौधरीको दबाबमा भएको आरोप यसअघि उठ्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।