लोड हुँदैछ...

मेनु

विवादले रोकियो धरानको बजेट, कार्यपालिका बैठक एजेन्डामै प्रवेश नगरी स्थगित

विवादले रोकियो धरानको बजेट, कार्यपालिका बैठक एजेन्डामै प्रवेश नगरी स्थगित

धरान । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गर्ने तयारीमा रहेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ। विविध विषयमा विवाद भएपछि आइतबार बिहान बसेको बैठक कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले स्थगित गरेका हुन्।

अब बैठक सोमबार बिहान ७ बजे पुनः बस्ने तय भएको छ। बैठक स्थगित भएसँगै नगरसभामा बजेट पेश गर्ने कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ।

आइतबार बिहान ८ बजेदेखि बोलाइएको कार्यपालिका बैठकमा करिब २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको थियो। तर एजेन्डामा प्रवेश गर्नुअघि नै केही कार्यपालिका सदस्यले विविध विषयमा लामो छलफल गर्न खोजेपछि बैठक अवरुद्ध भएको कार्यवाहक प्रमुख बेघाले बताए।

उनका अनुसार बैठकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले विभिन्न विषयमा प्रश्न उठाएका थिए। बजेट निर्माणका लागि गठित सीमा निर्धारण समितिमा एमालेका दुई, नेपाली कांग्रेसका एक तथा कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृत गरी पाँच सदस्य रहेका छन्। यस्तै पाँचवटा विषयगत समितिमध्ये तीनवटाको संयोजक एमाले र दुईवटाको संयोजक कांग्रेसबाट छन्।

बेघाले बजेटका विषयमा विषयगत समिति, सीमा निर्धारण समिति तथा सर्वदलीय तहमा करिब ३० पटक छलफल भइसकेको जानकारी दिए। पटक–पटकको छलफलपछि बसेको कार्यपालिका बैठकलाई योजनाबद्ध रूपमा अवरोध गरिएको उनको आरोप छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यवाहक प्रमुखलाई असफल बनाउने उद्देश्यका साथ बैठक अवरुद्ध गरिएको दाबी गरे। कार्यपालिकामा उठाइने विषय तथ्यमा आधारित, गम्भीर र सकारात्मक परिणाम दिने खालका हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो।

नगरको नीति, योजना र बजेट निर्माण गर्ने महत्वपूर्ण थलोका रूपमा कार्यपालिकामा जिम्मेवार र परिणाममुखी छलफल हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नगरको समग्र विकासका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।