लोड हुँदैछ...

मेनु

कोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजका २८ ढोका खोलिए

कोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजका २८ ढोका खोलिए

सप्तरी । लगातारको वर्षासँगै कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ । आइतबार दिउँसो ४ बजेको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ ।

आज बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक रहेको बहाव दिउँसो ३ बजे १ लाख ९० हजार ३९० क्युसेक पुगेको थियो । त्यसको एक घण्टाभित्रै बहाव बढेर २ लाख ९ हजार नाघेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन् । पानीको सतहले खतराको तह छुन लागेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा गाडिएको छ भने रातो बत्ती समेत बालिएको छ ।

नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, सर्वसाधारणलाई अनावश्यक रूपमा नदी किनारमा नजान र सुरक्षा सावधानी अपनाउन समेत सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।