विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षतिसँगै सडक सञ्जाल प्रभावित भएको छ।
बाढीपहिरोका कारण खोटाङमा दुई जनाको ज्यान गएको छ भने इलाम, धनकुटा, पाँचथर र खोटाङका मुख्य तथा सहायक सडक अवरुद्ध भएका छन्। जोखिम बढेपछि केही जिल्लामा रात्रिकालीन सवारी सञ्चालनसमेत रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको खोलाले बगाएर मृत्यु भएको हो।
आफन्तको घरबाट फर्किने क्रममा स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राई बेपत्ता भएकी थिइन्। ढिलोसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको थियो। यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
वर्षाका कारण इलामको रजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। धनकुटा, खोटाङ, पाँचथर र इलामका मुख्य तथा सहायक सडकमा पनि पहिरो र बाढीका कारण यातायात सेवा प्रभावित बनेको छ।
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोरअन्तर्गत मुलघाटदेखि पाँचथर सिमानासम्म तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारीसाधनको रात्रिकालीन सञ्चालनमा रोक लगाएको छ।
खोटाङ जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक तथा जिल्लाका सहायक सडकमा आपतकालीन सवारीबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ।
यस्तै, पाँचथर जिल्ला प्रशासन कार्यालयले मेची राजमार्ग, तमोर करिडोर, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, फिदिम–फालोट, राँके–रवि तथा जोरसाल–मेमेङ सडकसहित जिल्लाका मुख्य तथा भित्री सडकमा रात्रिकालीन सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको छ। आवश्यकताअनुसार स्थानीय तहले अन्य सडकमा समेत प्रतिबन्ध लगाउन सक्ने जनाएको छ।
इलाम जिल्ला प्रशासन कार्यालयले पनि मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाभित्रका सबै सडकमा शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा नजान र मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।