लोड हुँदैछ...

मेनु

गाडीले गेट त छेक्न सकिएला तर जनआवाज र प्रश्नको बाटो छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे

गाडीले गेट त छेक्न सकिएला तर जनआवाज र प्रश्नको बाटो छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह र प्रमुख प्रतिपक्षी दलका सभापति गगनकुमार थापाको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता आङ्देम्बेले यस कार्यलाई स्वतन्त्र प्रेस र विपक्षी आवाजमाथि मनोवैज्ञानिक दबाब दिने सरकारको अधिनायकवादी शैलीको रूपमा चित्रण गरेका छन् ।

सोमबार कांग्रेस सभापति थापाको निवाससहित कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा भाटभटेनी सुपरमार्केटको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधनहरू पार्क गरिएका थिए। यस घटनाले सरकार आलोचनाबाट डराएको पुष्टि गर्ने भन्दै आङ्देम्बेले आक्रोश व्यक्त गरेका हुन् ।

‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ’, आङ्देम्बेलेभने ,‘के सरकारले अब आलोचनात्मक आवाज नै बन्द गर्न खोजेको हो?’

उनले गेटअगाडि गाडी तेर्स्याउनु बाटो छेक्ने सामान्य विषय मात्र नभई विपक्षी नेतृत्व र स्वतन्त्र प्रेसलाई तर्साउने योजनाबद्ध खेल भएको दाबी गरेका छन् ।

मुलुकमा सहकारी पीडित, मिटरब्याजपीडित, बेरोजगारी र सुकुम्बासी समस्या भयावह बन्दै गएको र जनताले आत्मदाह गर्नेसम्मको स्थिति आउँदा पनि सरकारले ठोस जवाफ दिन नसकेको उनको आरोप छ।

सञ्चारमाध्यम र प्रतिपक्षलाई सरकारको शत्रु नभई राज्यको कामकारबाही देखाउने ऐनाको रूपमा बुझ्न आग्रह गर्दै आङ्देम्बेले सरकारलाई भ्रममा नरहन चेतावनी दिएका छन् । इतिहासले स्वतन्त्र आवाज दबाउन खोज्ने शासकहरूको हविगत देखाइसकेको भन्दै उनले भने ‘भ्रममा नरहनुस्— गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भनेर। गाडीले गेट त छेक्न सकिएला तर जनआवाज र प्रश्नको बाटो छेक्न सकिन्न। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds