धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीले प्रतिष्ठानको आर्थिक सुधार, अस्पतालको डिजिटलाइजेसन र एमआरआई सेवा सञ्चालनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन्।
कार्कीले प्रतिष्ठानमा सुशासन, पारदर्शिता, गुणस्तरीय स्वास्थ्य सेवा र आर्थिक व्यवस्थापन सुधारका लागि तत्काल कार्ययोजना अघि बढाइने जानकारी दिएकी हुन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयबाट डा. कार्की उपकुलपतिमा नियुक्त भएकी हुन्। उनले सोमबार पदभार ग्रहण गरेकी थिइन् ।
डा.कार्कीले अस्पतालको डिजिटल प्रणाली विस्तारका लागि नेपाल–भारतबीच भएको समझदारी (एमओयू) कार्यान्वयनलाई तीव्रता दिने बताइन्। प्रधानमन्त्रीसँग भएको भेटमा सम्बन्धित फाइल प्रशासनिक प्रक्रियामा रोकिएको विषय उठाउँदै त्यसलाई यथाशीघ्र अघि बढाउन आग्रह गरेको उनको भनाइ छ ।
लामो समयदेखि सञ्चालनमा आउन नसकेको एमआरआई सेवा छिट्टै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्कीले मातृ–शिशु केन्द्र (एमसीएच) निर्माणको प्रक्रिया पनि तीब्र बनाउने बताएकी छन् । प्रतिष्ठानको अस्पताल र आर्थिक प्रशासनका जिम्मेवार अधिकारीसँग छलफल गरी समग्र वस्तुस्थिति अध्ययन गरेर सुधारको विस्तृत कार्ययोजना तयार पार्ने उनको भनाइ छ ।
बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक औषधि, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गरिने उनले बताइन्। अस्पतालको आधारभूत पूर्वाधार सुदृढ गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासमेत उनले सार्वजनिक गरिन्।
एमबिबिएस अध्ययनतर्फ १५० सिट विस्तारको सम्भावना रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार, छात्रावास तथा अन्य व्यवस्थाको विस्तृत अध्ययनपछि मात्रै प्रक्रिया अघि बढाइने स्पष्ट पारिन्। २४ वर्षदेखि अध्ययन, अध्यापन र स्वास्थ्य सेवामा संलग्न रहेको अनुभवले प्रतिष्ठानका चुनौती र सम्भावनाबारे आफूलाई राम्रो जानकारी रहेको उल्लेख गर्दै उनले प्रतिष्ठानलाई स्वच्छ, पारदर्शी र सकारात्मक कार्यसंस्कृतिसहित नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।