विराटनगर । पछिल्लो एक साताभित्र आत्मदाहको प्रयास गरेका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत उनीहरूको शरीरको आधाभन्दा बढी भाग जलेका कारण बचाउन नसकिएको चिकित्सकहरूले बताएका छन् ।
मृत्यु हुनेमा काठमाडौँ बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन् । राउत र नेपालीको वीर अस्पतालमा तथा मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राउतले आफ्नै घरमा, नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि र मण्डलले सर्लाहीमा आत्मदाहको प्रयास गरेका थिए । मण्डललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
देशभर जलनका बिरामीको संख्या बढ्दो क्रममा रहे पनि उपचारका लागि विशेषज्ञ चिकित्सक र पूर्वाधारको भने चरम अभाव देखिएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार देशभर ३७ हजार ४ सय ३८ जना जलनका बिरामी रहेका छन् । तर, उनीहरूको उपचारमा संलग्न हुने प्लास्टिक सर्जन र विशेषज्ञ चिकित्सकहरूको संख्या भने निकै न्यून छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।