लोड हुँदैछ...

मेनु

अभिषेक गिरीविरुद्धको जाहेरीमा के छ ?

अभिषेक गिरीविरुद्धको जाहेरीमा के छ ?

विराटनगर । मोरङ कारागारभित्र ‘कैदीबन्दी असुली धन्दा’ चलाएको आरोप लागेका अभिषेक गिरीको अर्को अपराध शृङ्खला सतहमा आएको छ ।

मोरङ अदालतको आदेशले सोमबार राति थुनामुक्त भएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परेका गिरीले एक निर्माण व्यवसायीलाई डर त्रास देखाई करडौं ठगी र सम्पत्ति कब्जा गरेको खुलेको हो ।

हेटौँडाका निर्माण व्यवसायी तथा ‘श्रेष्ठ कन्ट्रक्सन’ का सञ्चालक सुभाष श्रेष्ठले सीआईबीमा दिएको जाहेरीअनुसार, गिरीले आफूलाई ‘ठूला नेताको खास मान्छे’ भएको दाबी गर्दै सरकारी ठेक्का मिलाइदिने प्रलोभनमा पारेर श्रेष्ठको व्यवसाय नै धरासायी बनाएका छन् ।

करिब डेढ वर्षअघि श्रेष्ठसँग चिनजान भएका गिरीले रतुवा–केशलीया हुलाकी सडक र विराटनगर–घिनाघाट सडक आयोजनाको काम मिलाइदिने भन्दै आफ्नो कम्पनी ‘आर।सी। सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि’ मार्फत उप ठेक्का लिएका थिए । तर, काम अघि बढाउनुको साटो उनले श्रेष्ठलाई नै कङ्गाल बनाउने योजना बुनेको जाहेरीमा उल्लेख छ ।

उपकरण कब्जा र कवाडीमा बिक्री
गिरीले व्यवसायी श्रेष्ठको कम्पनीका महँगा उपकरण र सवारी साधनहरू जबरजस्ती कब्जामा लिएको जाहेरीमा उल्लेख छ । उनले श्रेष्ठको नाममा रहेको हित्याची–११० एक्साभेटर र ना ६ ख १४०६, ना ८ ख ५९२७ तथा ना ६ ख ७४५७ नम्बरका टिपरहरू धनीलाई पत्तो नै नदिई कवाडीमा बिक्री गरेको गम्भीर आरोप लागेको छ । अन्य उपकरणहरू पनि ज्यान मार्ने धम्की दिएर गिरीले आफ्नो नियन्त्रणमा राखेका छन् ।

बूढानीलकण्ठको घरजग्गा पत्नीको नाममा
व्यवसायी श्रेष्ठलाई परिवार नै सिध्याउने धम्की दिँदै गिरीले काठमाडौँको बूढानीलकण्ठ–७ मा रहेको २१७।०१ वर्गमिटर जग्गा र त्यसमा बनेको घर ६ महिनाअघि आफ्नी पत्नी सोनु आचार्यको नाममा जबरजस्ती पास गराउन लगाएका थिए । जाहेरीमा श्रेष्ठले गिरीको दबाबमा परी उक्त सम्पत्ति राजीनामा पास गरिदिनु परेको उल्लेख गरेका छन् ।

चेक बाउन्स र नक्कली मुद्दाको जाल
गिरीले श्रेष्ठलाई डराई धम्क्याई विभिन्न समयमा खाली चेकहरूमा हस्ताक्षर गर्न लगाएका थिए । त्यसैमध्येको एउटा चेकमा ५ करोड ४५ लाख १० हजार ४०५ रुपैयाँ भरेर चन्द्रकुमार शाहको नाममा बैंकमा पेस गरी ‘बाउन्स’ गराइएको थियो । सोही बाउन्स चेकको आधारमा गिरीले उल्टै श्रेष्ठविरुद्ध मोरङ प्रहरीमा उजुरी हाल्न लगाएर कानुनी फन्दामा पार्ने प्रयास समेत गरेको खुलेको छ ।

यति मात्र होइन, श्रेष्ठले अन्य व्यक्तिबाट पाउनुपर्ने १ करोड ५० लाख रुपैयाँमध्ये ५० लाख रुपैयाँ पनि गिरीले जबरजस्ती विनोद सिंह र चन्द्रकुमार गुप्ताको नाममा चेक काट्न लगाई आफैँले असुल गरेको दाबी गरिएको छ ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले गिरीले ‘आपराधिक विश्वासघात’ गरी पीडितको सम्पत्ति हडपेको बताएका छन् । मोरङ अदालतबाट छुटे लगत्तै पक्राउ परेका गिरीलाई मंगलबार जिल्ला अदालत काठमाडौँले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गिरीमाथि अहिले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको कसुरमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।