विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशमा ‘धेरै भारी’ वर्षाको जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा अवस्थित रहेकाले यस क्षेत्रमा वर्षाको प्रभाव बढी देखिने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति कोशी प्रदेशका धेरैजसो स्थानमा वर्षा हुनेछ । विशेषगरी आज राति कोशी प्रदेशका पहाडी तथा तराईका भूभागका केही स्थानमा चट्याङ्गसहित भारी वर्षादेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
अहिले कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको र प्रदेशभरि नै सामान्य बदलीको अवस्था रहेको विराटनगरस्थित मौसम कार्यालयले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी र तराई दुवै भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । पहाडी भूभागका एक-दुई स्थानमा भने दिउँसो पनि भारी वर्षा हुन सक्नेछ ।
आज राति कोशी प्रदेशमा मौसम थप सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार राति कोशीका धेरै स्थानमा वर्षा हुनेछ भने केही ठाउँमा मुसलधारे वर्षाको जोखिम रहेकाले नदी तटीय क्षेत्र र पहिरो जान सक्ने पहाडी इलाकामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
कोशी प्रदेशसँगै आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा भने हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका मुख्य नदीहरूमा जलस्तर बढ्न सक्ने र सडक यातायात समेत प्रभावित हुन सक्ने भन्दै पूर्वतयारी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।