लोड हुँदैछ...

मेनु

अभिषेक गिरीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

अभिषेक गिरीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले अभिषेक गिरीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतले मंगलबार गिरीलाई तीन दिनको म्याद दिएको हो।

सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपम शमशेर जबराले गिरीमाथि ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणजन्य कसुरमा छुट्टै अनुसन्धान थालिएको जानकारी दिए। गिरीविरुद्ध विभिन्न व्यक्तिलाई ठगी गरेको र आपराधिक लाभ लिएको भन्दै ब्युरोमा उजुरीहरू परेका छन्।

यसअघि मोरङ कारागारका कैदीबन्दीको रकम असुली प्रकरणमा पक्राउ परेका गिरीलाई सोमबार मोरङ जिल्ला अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। तर, अदालतबाट छुट्नासाथ सीआईबीको टोलीले उनलाई विराटनगरबाट पुनः पक्राउ गरी सोही राति हवाई मार्गमार्फत काठमाडौँ ल्याएको थियो।

गिरीमाथि मोरङ कारागारमा रहँदा कैदीबन्दीले मुडा बुनेर कमाएको पारिश्रमिक र सरकारले उपलब्ध गराउने गर्मी तथा जाडो भत्ताबापतको रकम जबरजस्ती असुली गरेको गम्भीर आरोप छ। साथै, निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई विभिन्न प्रलोभन देखाई ठगी गरेको र सम्पत्ति कब्जा गरेको विषयमा पनि प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।