लोड हुँदैछ...

मेनु

कैदीबन्दीले विक्री गरेको मुडा र गैलैँचाको ७ लाख अभिषेक गिरीको बैंक खातामा

कैदीबन्दीले विक्री गरेको मुडा र गैलैँचाको ७ लाख अभिषेक गिरीको बैंक खातामा

विराटनगर । मोरङ कारागारका कैदीबन्दीले दिनभर मुडा र गलैँचा बुनेर गरेको श्रमको कमाइ जेलबाहिर रहेका अभिषेक गिरीको बैंक खातामा पुग्ने गरेको मोरङ प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।

कारागारभित्रका कैदीबन्दीको भत्ता र पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका गिरीले श्रममा समेत शोषण गरेर लाखौँ रुपैयाँ आफ्नो खातामा जम्मा गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको हो ।

मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कैद भुक्तान गरेर निस्किएका गिरीले कारागारभित्र यस्तो ‘सिन्डिकेट’ खडा गरेका छन्, जहाँ हुने हरेक उत्पादन र आर्थिक कारोबारको मुख्य हिस्सा उनकै खल्तीमा पुग्छ । प्रहरीले गिरीको बैंक खाताको विवरण (स्टेटमेन्ट) झिकाएर अध्ययन गर्दा कारागारबाट बिक्री भएका सामग्रीको भुक्तानी सिधै उनको नाममा आउने गरेको भेटिएको छ ।

मोरङ कारागारमा हाल १ हजार १९९ कैदीबन्दी छन् । तीमध्ये झन्डै ५ सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । उनीहरूले तयार पारेका सामग्री ट्रकका ट्रक लोड भएर काठमाडौँ र चितवनका बजारसम्म पुग्छन् । तर, ती सामग्री खरिद गर्ने व्यापारीले वस्तुको भुक्तानी भने कारागारको आन्तरिक प्रशासन वा सम्बन्धित मजदुर कैदीलाई नभई गिरीको व्यक्तिगत खातामा पठाइदिने गरेका छन् ।

पछिल्लो समय चितवन र काठमाडौँका व्यापारीबाट मुडा र गलैँचा बिक्रीबापतको ७ लाख रुपैयाँ गिरीको खातामा जम्मा भएको खुलेको छ । “कैदमुक्त भएको लामो समय भइसक्दा पनि कारागारको उत्पादनको पैसा बाहिर रहेका व्यक्तिको खातामा गएको देखिन्छ,” मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने, “हामीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छौँ, यसले ठूलो आर्थिक अनियमितता र शोषणको जालो उजागर गर्नेछ ।”

गिरी २०७९ चैत ५ गते कैद भुक्तान गरेर कारागारबाट निस्किएका थिए । गिरीले श्रममा मात्र होइन, सरकारले कैदीबन्दीलाई दिने रासन र भत्तामा समेत आँखा गाडेको पाइएको छ । असार १२ गते मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई जनही २ हजार ५ सयका दरले कुल १३ लाख ६० हजार रुपैयाँ भत्ता वितरण गरिएको थियो । तर, रकम वितरण भएको केही घण्टाभित्रै गिरीका सहयोगी र कारागारका केही नाइकेहरूले जबरजस्ती उक्त रकम संकलन गरेर गिरीसम्म पुर्‍याएको प्रहरीको दाबी छ । मोरङ कारागारभित्र बी ब्लकमा भारतीय नागरिक चन्चला भन्ने निमित्त चौकीदार रहेका छन् । उनी गिरीको मुख्य व्यक्ति भएको बुझिएको छ । उनले भित्रबाट रकम संकलन गर्ने र तरकारी वाला, गिरीको सहयोगी र कारागारका कार्यालय सहयोगीको सहयोगमा गिरीसम्म रकम पुगेको प्रहरी बताउँछन् ।

यही सूचनाका आधारमा प्रहरीले असार १३ गते गिरीलाई विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट पक्राउ गरेको थियो । उनको घर खानतलासी गर्दा प्रहरीले पैसा गन्ने मेसिनसमेत बरामद गरेको छ । “प्रहरी अहिले गिरीसम्म रकम पुग्ने ‘कनेक्सन’ खोतल्दैछ,” अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “सीसीटीभी फुटेज र बरामद दशीले कारागारभित्रको रकम बाहिरसम्म पुगेको पुष्टि गरिसकेको छ ।” प्रहरीका अनुसार यो संगठित असुलीमा कारागारका केही सहयोगी कर्मचारी, तरकारी आपूर्तिकर्ता विजय कामत र गिरीका सहयोगी दीपक कार्कीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ । कारागारभित्रको श्रम शोषण र आर्थिक सिन्डिकेटबारे प्रहरीले बैंकको पूर्ण विवरण र अन्य प्राविधिक पक्षमाथि सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।