विराटनगर । विराटनगर १५ स्थित रानी आँखा अस्पतालले आँखाको रेटिना सम्बन्धी सम्पूर्ण उपचार सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले शुक्रबारदेखि रेटिनाको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको हो।
यस सेवाको विस्तारसँगै अब रेटिनासम्बन्धी जटिल समस्या भएका बिरामीहरूले उपचारका लागि अन्य सहर वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालले जानकारी दिए। अस्पतालले अत्याधुनिक उपकरण र दक्ष विशेषज्ञ चिकित्सकको टोलीमार्फत यो सेवा उपलब्ध गराएको हो।
नयाँ सेवाले कोशी र मधेश प्रदेशका साथै सीमावर्ती भारतीय क्षेत्रका बिरामीहरूलाई समेत सहज, छिटो र गुणस्तरीय उपचार प्राप्त गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
डा. सुवालका अनुसार रेटिनासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके अधिकांश अवस्थामा दृष्टि जोगाउन सकिन्छ।
‘ढिलो गरी अस्पताल पुग्ने बिरामीमा स्थायी रूपमा दृष्टि गुम्ने जोखिम रहन्छ, त्यसैले समयमै आँखाको परीक्षण गराउनु अत्यन्त आवश्यक छ,’ उनले भने।
अस्पतालले रेटिनाको शल्यक्रियाका लागि अत्याधुनिक प्रविधि र मेसिनहरू प्रयोगमा ल्याएको छ। आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय सेवाकै कारण स्थापनाको छोटो समयमा नै यस अस्पतालले बिरामीहरूको विश्वास जित्न सफल भएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।