धरान । लगातार वर्षापछि सप्तकोशी नदीमा जलप्रवाह उल्लेख्य रूपमा बढेपछि सुनसरी जिल्ला प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।
सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले शुक्रबार कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन्।
हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पानीको बहाव मापन गरिएको छ। बढ्दो जलप्रवाहका कारण ब्यारेजका २० वटा ढोका खोलिएका छन्। कोशी नदीमा जलप्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान रहेको छ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा बाढीजन्य विपद्सँग जुध्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए। उनका अनुसार विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ भने प्रतिकार्य कार्यविधिसमेत कार्यान्वयनमा ल्याइएको छ।
बर्खायाममा उद्धार, राहत वितरण, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनासम्मका सबै कार्यका लागि जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए। प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा जोखिमयुक्त तटबन्धहरूको मर्मतसम्भारसमेत गरिएको जानकारी दिँदै ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने व्यवस्था मिलाइएको बताए।
स्थलगत अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सुनसरी प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, स्थानीय तहको सूचनालाई पालना गर्न तथा आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।