धरान । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्माण गरिएको स्मार्ट बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएपछि धरानको पुरानो भानुचोक–घण्टाघर बसपार्क क्षेत्र सुनसान बन्दै गएको छ। सार्वजनिक सवारीसाधनका सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएसँगै यात्रु र सवारीसाधनको चहलपहल पनि नयाँ बसपार्कमा केन्द्रित हुन थालेको हो।
धरान उपमहानगरपालिकाले असार १३ गते नयाँ बसपार्क तथा टर्मिनल भवनको उद्घाटन गर्दै पुरानो बसपार्क स्थानान्तरणको औपचारिक घोषणा गरेको थियो। सुरुवाती चरणमा केही यातायात व्यवसायीले नयाँ बसपार्कमा सवारीसाधन लैजान आनाकानी गरे पनि पछिल्ला छलफल र समन्वयपछि अहिले नियमित सञ्चालनमा आएको छ।
उपमहानगरपालिकाका अनुसार अब भानुचोक–घण्टाघर क्षेत्रमा पहाडी रुट, पूर्व–पश्चिम तथा विराटनगर रुटका सार्वजनिक सवारीसाधनसँगै रातो नम्बर प्लेटका सवारीसाधनसमेत पार्किङ गर्न निषेध गरिएको छ।
बसपार्क सञ्चालनका लागि तोकिएका फोकल पर्सन खगेन्द्र खतिवडाले ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र उपमहानगरपालिकाबीचको समन्वयबाट नयाँ बसपार्क व्यवस्थित रूपमा सञ्चालनमा आएको बताए।
करिब पाँच दशकअघि सीमित सवारीसाधनलाई लक्षित गरेर निर्माण गरिएको भानुचोक बसपार्क पछिल्ला वर्षहरूमा अत्यधिक भीडभाडको केन्द्र बनेको थियो। सार्वजनिक तथा निजी सवारीसाधनको संख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। त्यसमाथि रिक्साको स्थानमा एक हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा आएपछि भानुचोक–घण्टाघर क्षेत्र दिनभर जाम र अव्यवस्थाले प्रभावित हुने गरेको थियो।
बसपार्क स्थानान्तरणसँगै अहिले भानुचोक, देशीलाइन र पुतलीलाइन क्षेत्र खुला र व्यवस्थित देखिन थालेका छन्। पहिले सवारी पार्किङ गर्नसमेत ठाउँ अभाव हुने ती क्षेत्रमा अहिले ट्राफिक चाप उल्लेख्य रूपमा घटेको छ।
यद्यपि, बसपार्क सरेसँगै भानुचोक आसपासका व्यापारी र व्यवसायीको व्यापारमा भने असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यात्रुको चहलपहल नयाँ बसपार्कतर्फ सरेपछि पुरानो बजार क्षेत्रमा आर्थिक गतिविधि केही घट्न सक्ने व्यवसायीहरूको भनाइ छ।
नयाँ बसपार्क निर्माणको काम सुनसरीको दुहबीस्थित एम/एस बिकोइ गिताञ्जली जेभीले २०८१ असारभित्र सम्पन्न गरेको हो। तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत ८० भन्दा बढी जग्गाधनीको जग्गा ल्याण्ड पुलिङ प्रणालीमार्फत एकीकृत गरी २७ कट्टा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।
सरकारको समपूरक अनुदान र धरान उपमहानगरपालिकाको साझेदारीमा २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनको जिम्मा ठेक्का प्रक्रियामार्फत इटहरीस्थित ब्रदर्स ट्रेडर्सलाई वार्षिक १ करोड २ लाख रुपैयाँ (भ्याटसहित) मा दिइएको छ।
आधुनिक सुविधासहित निर्माण गरिएको नयाँ बसपार्कमा एकैपटक ३८ वटा ठूला बस तथा १८ वटा जिप, ल्यान्डरोभर र ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको छ। नयाँ बसपार्क सञ्चालनसँगै धरानको ट्राफिक व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।