विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ ।
एकातिर संक्रमितको संख्या बढ्दो छ भने अर्कोतिर बिरामीको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कन गर्ने मुख्य कडी ‘सीडी–४’ परीक्षण सेवा सहज नहुँदा उपचार व्यवस्थापनमा सास्ती भएको हो ।
एएचएफ नेपालद्वारा विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा प्रस्तुत तथ्यांकअनुसार कोशी प्रदेशमा हाल २ हजार ६ सय २३ जना संक्रमितले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । देशभर २७ हजार ५४ जनाले यो सेवा लिइरहेकामा बागमती प्रदेशपछि कोशी दोस्रो ठूलो भार बोक्ने प्रदेशका रूपमा देखिएको छ ।
बागमतीमा ७ हजार १०४ जना संक्रमित एआरटीको पहुँचमा छन् ।
एएचएफ नेपालका एआरटी क्लिनिक अधिकृत केशव बस्नेतका अनुसार विराटनगरमा मात्रै २०० भन्दा बढी संक्रमित नियमित एआरटी सेवामा आबद्ध छन् । कोशी अस्पतालस्थित एआरटी केन्द्रबाट ७ बालबालिकासहित ६ सय ५७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । ‘कोशी अस्पतालमा प्रदेशका विभिन्न जिल्लासँगै मधेश, बागमती र भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्,’ बस्नेतले भने, ‘बिरामीको चाप बढे पनि सीडी–४ परीक्षणको अभावले उनीहरूको स्वास्थ्य अवस्था कुन अवस्थामा छ भनी पत्ता लगाउन कठिन भइरहेको छ ।’
संक्रमितहरूको रगतमा रोग प्रतिरोधात्मक क्षमता कति छ भनेर हेर्न सीडी–४ परीक्षण अनिवार्य मानिन्छ । तर, यो सेवा नियमित उपलब्ध नहुँदा चिकित्सकहरूलाई औषधिको प्रभावकारिता जाँच्न मुस्किल परेको छ ।
बढ्दो ‘ड्रपआउट’ को जोखिम
उपचारको पहुँचमा आएका बिरामीहरू बिचमै हराउने (फलोअपमा नआउने) प्रवृत्ति अर्को ठूलो समस्या बनेको छ । बस्नेतका अनुसार एक पटक एआरटी सेन्टर आएर उपचार सुरु गर्ने तर त्यसपछि सम्पर्कविहीन हुने बिरामीको संख्या बढ्दो छ । यसले गर्दा संक्रमण नियन्त्रणको लक्ष्यमा धक्का पुग्ने र संक्रमितको ज्यान नै जोखिममा पर्न सक्ने सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीडी–४ परीक्षणमा देखिएको समस्या समाधान गर्न महानगरले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यो गम्भीर विषय हो, यसका लागि हामी प्रदेश र संघ सरकारसँग समन्वय गर्नेछौँ,’ कोइरालाले भने, ‘आवश्यक परे महानगरले आफ्नै स्रोतबाट बजेट विनियोजन गरेर भए पनि परीक्षण सेवा सहज बनाउन पहल गर्नेछ ।’
बैठकमा एएचएफ नेपालले बिरामीहरूलाई दिँदै आएको सहयोगबारे पनि जानकारी दिएको छ । संस्थाले १०२ जना बिरामीलाई यातायात खर्च, ७२ जनालाई पोषण, ५६ जनालाई औषधि र २९ जनालाई प्रयोगशाला परीक्षणमा सहयोग पुर्याएको छ ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलीपकुमार यादवले महानगर क्षेत्रमा संक्रमितको संख्या थपिँदै गएकाले एएचएफ नेपालजस्ता संस्थाको भूमिका अझ महत्त्वपूर्ण भएको बताए । सहभागीहरूले नेपाल–भारत खुला सीमाका कारण आवतजावत गर्नेहरूको परीक्षणमा कडाइ गर्नुपर्ने र सीमा नाकामै स्क्रिनिङको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका छन् ।
सीमावर्ती क्षेत्रमा विशेष निगरानी नहुँदा संक्रमण लुकेर फैलिरहेको हुनसक्ने भन्दै उनीहरूले राज्यको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।