काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्न खोजिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने र उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।
‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन्,’ विज्ञप्तिमा भनिएको छ । रास्वपाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारेको छ।
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको उल्लेख गर्दै रास्वपाले यस्ता गतिविधिहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न माग गरेको छ। सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ।
यसैगरी, रास्वपाले सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै सञ्चारकर्मी र सञ्चार गृहहरूको सुरक्षा एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।