लोड हुँदैछ...

मेनु

चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको नेपाली शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा बन्द भएको हो।

यससँगै सेन्सेटिभ इण्डेक्स ०.७९ अंक, फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर ५३ हजार ८५४ पटक खरिदबिक्री हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। ऋणपत्र (डिबेञ्चर) को उच्च कारोबारले समग्र कारोबार रकम बढाउन महत्वपूर्ण भूमिका खेलेको हो।

मंगलबार ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य सबैभन्दा धेरै १०.२२ प्रतिशतले बढ्यो। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ करिब १० प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

यता, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को मूल्य भने सबैभन्दा धेरै ९.६८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष १० मध्ये ९ स्थान ऋणपत्रले ओगटे। सबैभन्दा बढी १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढी, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चरको ३७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ १३ मध्ये १२ उपसमूह हरियो रहे। व्यापार समूह सबैभन्दा धेरै १.४७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह भने ०.१८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds