लोड हुँदैछ...

मेनु

‘सिंहदरबार र बालुवाटारमै गाडी तेर्स्याउने अभियान चल्न सक्छ’ : नेता हिमाल शर्मा

‘सिंहदरबार र बालुवाटारमै गाडी तेर्स्याउने अभियान चल्न सक्छ’ : नेता हिमाल शर्मा

विराटनगर। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हिमाल शर्माले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै ५०० रुपैयाँ जरिवाना तिरेर प्रधानमन्त्री निवास वा सिंहदरबारको गेटमै सवारी साधन छाडेर हिँड्ने अभियान चल्न सक्ने भन्दै चेतावनी दिएका छन्।

नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले योजनावद्ध रूपमा अराजनीतिक र गुण्डागर्दी शैली अपनाएको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन्। उनले पछिल्लो समय न्युरोडमा जथाभावी पार्किङ गर्ने, सञ्चार माध्यम, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरको गेटमा गाडी तेर्स्याएर मनोवैज्ञानिक दबाब दिने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

“५०० रुपैयाँ ट्राफिक जरिवाना बोकेर प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार गेटमा आफ्नो सवारी साधन छोडेर हिँड्ने अभियान चल्यो भने के होला ?” शर्माले प्रश्न गरेका छन्, “योजनावद्ध तरिकाले अनधिकृत रूपमा कहिले न्युरोडमा आफ्नै मान्छे परिचालन गरेर पार्किङ गर्ने, कहिले मिडिया र व्यक्तिको घर अगाडि गाडी तेर्स्याउने काम भइरहेको छ।”

उनले यस्ता क्रियाकलापमा संलग्नलाई सामान्य ५०० जरिवाना गरेर ससम्मान गाडी घरमै पुर्‍याइदिने सरकारको नीतिमाथि प्रश्न उठाउँदै यसमा गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् । तर, गहिरो अनुसन्धान गरे यस्ता ‘कच्चा योजना’ बनाउने सरकारकै मान्छेहरू तानिने उनको दाबी छ।

नेता शर्माले सरकारले नेपाली सञ्चार माध्यमहरूलाई दबाबमा राख्न, विपक्षी दलहरूलाई हेप्न र उनीहरूको मनोबल गिराउन यस्तो शैली अपनाएको बताएका छन्। उनले सरकारको यस किसिमको शैलीले कुनै दिन जनताले पनि त्यस्तै विरोधको बाटो रोजे सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी दिएका छन्।

सरकारले लोकतान्त्रिक मूल्य मान्यता विपरीत ‘जे पनि गर्न सक्छौं’ भन्ने सन्देश दिन खोजेको भन्दै उनले यस्ता अराजनीतिक क्रियाकलाप तत्काल रोक्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds