विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको जग्गामा रहेका अनधिकृत संरचना हटाउने क्रममा सोमबार बिहान रक्तसञ्चार केन्द्र (ब्लड बैंक) परिसरमा डोजर चलाइएको विषयमा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले गम्भीर आपत्ति जनाएको छ ।
रेडक्रसले सरकारको यस्तो कार्यले आकस्मिक रक्तसञ्चार सेवा अवरुद्ध हुन सक्ने र त्यसबाट हुने मानवीय क्षतिको जिम्मेवारी आफूहरूले लिन नसक्ने चेतावनी दिएको छ ।
अस्पताल प्रशासनले जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गर्न दिएको समयसीमा सकिएपछि सोमबार बिहानैदेखि डोजर चलाएको थियो । सो क्रममा रेडक्रसले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका सटरहरू सहित ३२ वटा संरचना भत्काइएका छन् । प्रशासनले गणेश मन्दिर, नेपाल क्षयरोग संस्था, रेडक्रस र देवकोटा पुस्तकालयको मुख्य कार्यालय रहेका भवनहरू तत्काल नभत्काए पनि ती संस्थाले उपभोग गर्दै आएका व्यावसायिक संरचनामा भने डोजर चलाएको हो ।
नेपाल रेडक्रस सोसाइटी मोरङले सोमबार एक विज्ञप्ति जारी गर्दै बिहान ५ बजेदेखि नै रक्तसञ्चार सेवा प्रवाह भइरहेकै अवस्थामा डोजर लगाएर भवन भत्काउन सुरु गरिएकोमा दुःख व्यक्त गरेको छ । ‘रगत र रक्ततत्वको कुनै कृत्रिम विकल्प छैन । सुत्केरी, गम्भीर बिरामी र दुर्घटनाका घाइतेका लागि चौबीसै घण्टा उपलब्ध गराउनुपर्ने सेवा अवरुद्ध हुने गरी गरिएको यो कार्य अमानवीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
रेडक्रसले २०४२ सालमा तत्कालीन श्री ५ को सरकार र स्वास्थ्य सेवा विभागको निर्णयअनुसार कोशी अस्पतालको कित्ता नम्बर २३ को जग्गामा भोगाधिकार पाएर भवन निर्माण गरेको दाबी गरेको छ । दाताहरूको सहयोगमा निर्मित भवन भत्काउँदा स्वयंसेवी रेडक्रसकर्मीहरूको भावनामा चोट पुगेको र यसबाट भविष्यमा हुन सक्ने रगतको अभाव र बिरामीको ज्यान जोखिममा पर्ने अवस्थाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने रेडक्रसको तर्क छ ।
यता अस्पताल प्रशासनले भने अस्पतालको विकासका लागि आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउनु अनिवार्य रहेको जनाएको छ । रेडक्रस लगायतका संस्थाहरूले अस्पतालको जग्गामा व्यवसायिक सटरहरू बनाएर आम्दानी गर्दै आएका थिए । अस्पतालले पटक–पटक सूचना जारी गरेपछि व्यवासियक प्रयोजनमा लगाएको सटरहरूमा मात्रैडोजर चलाउनुपरेको स्थानीय प्रशासनको भनाइ छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।