लोड हुँदैछ...

मेनु

फुटपाथमा हिड्ने नागरिकलाई गर्मीबाट जोगाउन विराटनगरमा ‘मिस्टिङ सिस्टम’ जडान

फुटपाथमा हिड्ने नागरिकलाई गर्मीबाट जोगाउन विराटनगरमा ‘मिस्टिङ सिस्टम’ जडान

विराटनगर । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि विराटनगर मेनरोडको सडक पेटीमा ‘मिस्टिङ सिस्टम’ वा ‘वाटर फगिङ कूलिङ सिस्टम’ जडान गरिएको छ ।

पानीको पाइपमा साना नोजल जडान गरी त्यसमार्फत पानीलाई अत्यन्त सानो कण (मिस्ट) का रूपमा हावामा छर्ने प्रणाली विराटनगर महानगर र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा जडान गरिएको हो । यसरी निस्किने पानीका कणहरु हावामा आएसँगै बाफमा परिणत हुँदा वरपरको ताप सोसेर वातावरणलाई केही चिसो बनाउने काम गर्ने भएकोले सडक पेटीमा हिड्नेहरुलाई सितल प्रदान गर्दछ ।

यो प्रणाली महानगरपालिकाले ट्राफिक चोकदेखि जलजला चोक उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सडकको दुवैतर्फ पेटीमा जडान गरेको छ ।

विराटनगर महानगरपालिकाका अनुसार यो प्रविधिले सम्पूर्ण शहरको तापक्रम घटाउने नभएर पैदलयात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षास्थल तथा बढी भीडभाड हुने स्थानमा केही डिग्रीसम्म चिसोपनको अनुभूति गराउन सयोग गर्दछ । यो प्रविधि १० लाख रुपैयाँ लगानीमा जडान गरिएको हो । यसले ३ डिग्रीसम्म तापक्रम घटाउनुका साथै सडकमा उड्ने धुलो कम गर्ने बताइएको छ ।

मिस्टिङ प्रणालीमा एक ठाउँमा पानी जम्मा गरेर बढी गर्मी भएको समयमा पाइपमा प्रसार गरी नोजलमार्फत सडक पेटीमा छर्ने गरिन्छ । यसको पानीले पैदलयात्रुको कपडा नभिजाउने प्राविधिकहरुले बताए ।

विश्वका अत्यधिक गर्मी हुने शहरहरूमा यस्तो प्रविधि प्रचलनमा छ । युरोपबाट सुरु भएको यो प्रविधि दुबई, दोहा, रियाद, भारतका अहमदाबाद, दिल्ली र जयपुर लगायतका स्थानमा सार्वजनिक क्षेत्र, बसपार्क, पार्क, खुला बजार तथा पर्यटकीय स्थलमा प्रयोगमा ल्याइएको छ ।

विराटनगरमा गर्मीयाममा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने भएकाले सार्वजनिक स्थानमा मिस्टिङ प्रणालीको प्रयोगलाई गर्मीबाट नागरिकलाई केही राहत दिने प्रयासका रूपमा यो प्रविधि जडान गरिएको हो ।

वातावरणविद्हरूका अनुसार मिस्टिङ प्रणाली तत्कालीन राहतका लागि उपयोगी भए पनि दीर्घकालीन रूपमा भने सडक किनारमा वृक्षारोपण गरी हरियाली विस्तार गर्नु र खुला क्षेत्र संरक्षण गर्नु नै बढी लाभदायक हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।