विराटनगर । मोरङको ग्रामथानमा एक युवकले आफ्नै भाउजूको खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका छन् । ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने २१ वर्षीय सौचन राजवंशीले २० वर्षीया भाउजू सीमा राजवंशीको सोमबार राति हत्या गरेका हुन् ।
प्रहरीका अनुसार राति करिब साढे ८ बजेतिर सौचनले घरको आँगनमै खुकुरी प्रहार गरी सीमाको घाँटी छिनाएका थिए । हत्यापछि उनले भाउजूको शव घिसार्दै शौचालयनजिक लगेर फालेका थिए । घटनास्थल पुगेका प्रहरी अधिकारीहरूका अनुसार आँगनदेखि शौचालसम्मको क्षेत्र रक्ताम्य देखिएको छ ।
झगडा छुट्याउन खोज्दा सौचनका ठूलोबुवा शिवलाल खवाससमेत घाइते भएका छन् । उनको दाहिने कुममा चोट लागेको छ र हाल स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले हत्यामा संलग्न सौचनलाई नियन्त्रणमा लिइएको जानकारी दिए । हत्याको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ । मृतक सीमाका पति कपिल खवास हाल काठमाडौंमा छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।