लोड हुँदैछ...

मेनु

डिजिटल सुशासन र प्रविधिमैत्री सेवामा कोशीका सांसदहरूको जोड

डिजिटल सुशासन र प्रविधिमैत्री सेवामा कोशीका सांसदहरूको जोड

विराटनगर । कोशी प्रदेशका सांसदहरूले बदलिँदो प्रविधिको युगमा सरकारी सेवालाई प्रभावकारी बनाउन डिजिटल सुशासनको विकल्प नभएको बताएका छन् ।

रिडेफ नेपालले विराटनगरमा आयोजना गरेको ‘डिजिटल सुशासन र नीति निर्माण’ सम्बन्धी अन्तक्रियामा बोल्दै उनीहरूले परम्परागत प्रशासनिक झन्झट अन्त्य गर्न प्रविधिको उच्चतम प्रयोगमा जोड दिएका हुन् ।

अन्तक्रियामा सहभागी सांसदहरूले विश्वव्यापी रूपमा विकास भएको सूचना प्रविधिलाई आत्मसात गर्दै प्रदेशका हरेक सरकारी संयन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश सभा सदस्य शिला दीक्षित कार्कीले सरकारी कार्यालयहरूमा प्रविधि भित्र्याउन ढिलाइ गर्न नहुने बताइन् । ‘जनताले घरमै बसेर सरकारी सेवा लिन सक्ने वातावरण बनाउन हामीले नीतिगत रूपमा भूमिका खेल्नुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘यस्ता अन्तक्रियाले डिजिटल सुशासनका जटिल र नवीन पक्षबारे बुझ्न सहयोग पुगेको छ ।’

अर्का प्रदेश सांसद सपना परियारले डिजिटल यात्रामा विश्वले मारेको फड्कोलाई मध्यनजर गर्दै प्रदेश सरकारले पनि आफ्नो कार्यशैली बदल्नुपर्ने उल्लेख गरिन् । प्रविधिको प्रयोगले सेवा प्रवाहमा पारदर्शिता र गति दुवै बढ्ने उनको तर्क थियो । यस्तै, सांसद सुनिता गुरुङले अहिलेको युग नै प्रविधिको भएकाले सरकारी सेवालाई छिटो र छरितो बनाउन यसको विकल्प नरहेको बताइन् ।
सांसद निमसरी राजवंशीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको विकासले युवा पुस्ता अगाडि बढिसकेको सन्दर्भमा राज्य संयन्त्र पनि सोही अनुसार अपग्रेड हुनुपर्नेमा जोड दिइन् ।

अर्का सांसद मैया श्रेष्ठले यस्ता कार्यक्रमले जनप्रतिनिधिहरूलाई नीति निर्माण तहमा प्रविधिको महत्त्व बुझ्न ठूलो मद्दत पुग्ने धारणा राखिन् । ‘प्रविधिको उच्चतम प्रयोगमार्फत नै जनतालाई सुशासनको महसुस गराउन सकिन्छ,’ उनले भनिन् ।

सांसद सुनिता गच्छदारले डिजिटल सुशासन कायम गरेर नागरिकको तल्लो तहसम्म सेवालाई सहज रूपमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याइन् । प्रदेश सांसद विद्या चाम्लिङले सरकारी सेवा प्रभाहलाई सहजत छिटो क्षरितो बनाउन प्रविधिको उचतम प्रयोग गरिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका बारेमा प्रष्ट पार्दै रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले प्रदेशका नीति निर्माताहरूलाई प्रविधि र डिजिटल सुशासनका बारेमा सचेत गराउन कार्यक्रम आयोजना गरिएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो ।

पत्रकार लिलराज भट्टराईले सहजीकरण गरेको उक्त कार्यक्रममा कोशी प्रदेश सभाका झण्डै एक दर्जन सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।