धनकुटा । भोजपुर र संखुवासभालाई सबैभन्दा छोटो दूरीबाट तराईसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको अरुण कोरिडोर सडक आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ। ६५ किलोमिटर लामो यो द्रुतमार्गले सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको महालक्ष्मी र पाख्रिबास नगरपालिकाको सीमास्थित माङ्माया डाँडासम्म जोड्नेछ।
आयोजनाअन्तर्गत चतरा–माङ्माया खण्डलाई तीन भागमा विभाजन गरी करिब एक अर्ब रुपैयाँ लागतमा ४५ किलोमिटर सडक निर्माणको ठेक्का भइसकेको छ। तीमध्ये ३५ किलोमिटरमा प्रारम्भिक ट्र्याक खोलिसकिएको छ भने अहिले सडकलाई १० मिटर चौडाइमा विस्तार गर्ने काम भइरहेको आयोजना प्रमुख मनिषमान शाक्यले जानकारी दिए।
उनका अनुसार बाँकी सडक निर्माणको काम तमोर नदीमाथि बन्ने मुख्य पुलको डिजाइन र अलाइनमेन्ट टुंगिएपछि अघि बढाइनेछ। यसका लागि सडक विभागको पुल महाशाखासँग विस्तृत अध्ययन तथा समन्वय भइरहेको उनले बताए।
आयोजनाअनुसार सम्पूर्ण ६५ किलोमिटर सडकमा तमोर नदीसहित ११ स्थानमा मोटरेबल पक्की पुल निर्माण गरिनेछ। तमोर, अधेरी, छाम्लाङ, धुसेनी, मंग्सुवा, सुनाखानी खहरे, लेदे, मुगा र निवुखोलालगायत स्थानमा २० देखि ४० मिटर लम्बाइका पुल निर्माण गर्ने योजना छ। केही पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको आयोजनाले जनाएको छ।
सडक निर्माण सम्पन्न भएपछि भोजपुर, संखुवासभा तथा धनकुटाको महालक्ष्मी र पाख्रिबास क्षेत्रका बासिन्दाले हाल प्रयोग गर्दै आएको कोशी राजमार्गको करिब १२५ किलोमिटर दूरी घटेर ६५ किलोमिटरमा सीमित हुनेछ। यसबाट यात्रा समय करिब दुई घण्टासम्म कम हुने र ढुवानी लागतसमेत घट्ने अपेक्षा गरिएको छ।
महालक्ष्मी नगरपालिका–४ चानुवाका स्थानीय वीरबहादुर विश्वकर्माले सडक निर्माणले दैनिक जीवनमा ठूलो सहजता ल्याउने बताए। उनका अनुसार हाल धरान पुग्न पाख्रिबास, हिले, धनकुटा, मूलघाट र भेडेटार हुँदै दिनभर लाग्ने यात्रा अरुण कोरिडोर सञ्चालनमा आएपछि निकै छोटो हुनेछ। यसले बिरामी तथा आपत्कालीन अवस्थामा समेत छिटो आवतजावत गर्न सहज हुने उनले बताए।
यद्यपि सडकको केही खण्डमा स्थानीयका घर–टहराका कारण ट्र्याक खोल्ने काममा ढिलाइ भएको आयोजनाले जनाएको छ। ती समस्या समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवालासँग समन्वय भइरहेको छ।
धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्माण कार्यमा कुनै अवरोध हुन नदिन प्रशासनले निरन्तर सहजीकरण गरिरहेको बताइन्। सडकको अधिकार क्षेत्रमा देखिएका सामान्य समस्या समाधान गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन आयोजना र निर्माण कम्पनीसँग नियमित समन्वय तथा अनुगमन भइरहेको उनले जानकारी दिइन्।
यसैबीच प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा सुरक्षा अधिकारीहरूको टोलीले आयोजनास्थलको अनुगमन गरी प्रगति, समस्या र समाधानका उपायबारे आयोजना तथा निर्माण कम्पनीसँग छलफल गरेको छ। आयोजना प्रमुख शाक्यका अनुसार सडकको अधिकार क्षेत्रमा परेका केही घर–टहरा हटाउने प्रक्रिया पनि अघि बढाइएको छ। ती समस्या समाधान भएपछि बाँकी निर्माण कार्य अझ तीव्र रूपमा अघि बढाइने उनले बताए।
आयोजना सम्पन्न भएपछि भोजपुर र संखुवासभाबाट तराई आवतजावत गर्ने यात्रुले हाल लेगुवाघाट, घोर्लिखर्क, पाख्रिबास, हिले, धनकुटा, मूलघाट र भेडेटार हुँदै तय गर्नुपर्ने करिब १२५ किलोमिटर दूरी घटेर ६५ किलोमिटरमा सीमित हुनेछ। यसले यात्रुको समय र खर्च बचत हुनुका साथै ढुवानी सेवा थप सहज र सस्तो बन्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।