लोड हुँदैछ...

मेनु

बाढी र पहिरोले मुलुकका मुख्य राजमार्गहरू अवरुद्ध, रातको समयमा सवारी चलाउन रोक

बाढी र पहिरोले मुलुकका मुख्य राजमार्गहरू अवरुद्ध, रातको समयमा सवारी चलाउन रोक

काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ।
केही स्थानमा सडक पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा पहिरो पन्छाएर एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ। बाढी र पहिरोको उच्च जोखिमका कारण केही संवेदनशील राजमार्गहरूमा रातको समयमा सवारी चलाउन रोक समेत लगाइएको छ।

कोशी प्रदेशको अवस्था

कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (राजदुवाली खण्ड)पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, पाँचथरको राँके–रवि–भेडेटार सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ। भोजपुर र खोटाङ क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी मात्र सुचारु रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा समय तोकेर सवारी रोकियो

बागमती प्रदेशमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै मुख्य राजमार्गहरूमा निश्चित समयका लागि सवारी आवागमन बन्द गरिएको छ। विपी राजमार्गको काभ्रे खण्डमा बाढीको सम्भावनाका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै, कान्ति लोकपथको मकवानपुर खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्गको जिरोकिलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध पारेको छ भने रसुवाको पासाङ ल्हामु सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा छ।

गण्डकी र कर्णाली प्रदेश

गण्डकी प्रदेशको बागलुङमा कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। यता कर्णाली प्रदेशको जाजरकोटमा पनि भेरी करिडोर ९जाजरकोट–डोल्पा सडक० पहिरोले गर्दा पूर्ण रूपमा बन्द भएको छ।

यात्रुलाई सतर्क रहन आग्रह

अवरुद्ध स्थानहरूमा पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण काममा कठिनाइ भइरहेको छ। प्रहरीले बाढी–पहिरोको जोखिम कायमै रहेकाले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षमा सम्पर्क गरेर सडकको अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।