लोड हुँदैछ...

मेनु

आर्या न्युरो हस्पिटलमा १८ वर्षीय युवकको ब्रेन ट्युमरको सफल शल्यक्रिया

आर्या न्युरो हस्पिटलमा १८ वर्षीय युवकको ब्रेन ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित आर्या न्युरो हस्पिटलले जटिल प्रकृतिको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ निवासी १८ वर्षीय मोहम्मद अफरोज मियाँको मस्तिष्कमा रहेको जटिल ट्युमरको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालका अनुसार मियाँको मस्तिष्कको पछिल्लो भागमा ट्युमर देखिएको थियो, जसको शल्यक्रिया अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको र उनी पूर्ण रूपमा निको भएर सोमबार घर फर्किएका छन् ।

गत असार २१ गते अस्पताल भर्ना भएका मियाँको आवश्यक परीक्षण र विशेषज्ञ चिकित्सकहरूको विशेष निगरानीमा शल्यक्रिया गरिएको थियो । १६ दिनको अस्पताल बसाइ र सफल उपचारपछि साउन ४ गते उनलाई डिस्चार्ज गरिएको अस्पतालका संस्थापक अध्यक्ष डा. पंकजराज नेपालले जानकारी दिए ।

‘बिरामीको मस्तिष्कको संवेदशनशील भागमा ट्युमर थियो । हामीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्यौँ,’ डा. नेपालले भने, ‘अहिले बिरामीको अवस्था सुधारोन्मुख छ, थप नियमित फलोअपका लागि परामर्शसहित घर पठाएका छौँ ।’

अस्पतालबाट डिस्चार्ज हुने क्रममा बिरामी अफरोज मियाँले खुसी व्यक्त गर्दै आर्या न्युरो हस्पिटलले आफूलाई ‘दोस्रो जीवन’ दिएको बताए । उनले भने, ‘मलाई निको हुन्छ भन्ने ठूलो आस थियो, यहाँका डाक्टर र टिमले मेरो सफल उपचार गरिदिनुभयो । म अस्पताल परिवारप्रति अत्यन्तै कृतज्ञ छु ।’
आर्या न्युरो हस्पिटलले न्युरोसर्जरी, मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल रोगहरूको उपचारमा आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए । ठाकुरका अनुसार समयमै विशेषज्ञ सेवाको पहुँच भएमा मस्तिष्कसँग सम्बन्धित जटिल समस्याहरूको पनि सफल व्यवस्थापन सम्भव छ ।

चिकित्सकहरूका अनुसार मस्तिष्कको यस्तो समस्यामा समयमै उपचार नभए आँखाको दृष्टि गुम्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता गम्भीर समस्याहरू बढ्दै जान्छन् । आर्या न्युरोले पछिल्लो समय कोशी प्रदेशमै जटिल न्युरो समस्याहरूको सफल उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।