विराटनगर । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालका इलाम, पाँचथर र ताप्लेजुङमा सडक सञ्जाल प्रभावित भएको छ। मुख्य राजमार्गदेखि वैकल्पिक सडकसम्म अवरुद्ध हुँदा यात्रु र ढुवानीका सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
इलामस्थित मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडक खण्ड एक सातादेखि सञ्चालनमा आउन सकेको छैन। सडक भासिएपछि मर्मतको प्रयास भए पनि पुनः भासिने क्रम नरोकिएकाले मोटरसाइकलसमेत सञ्चालन गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
राजदुवालीको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी–जोगमाई सडक पनि बाढीले अवरुद्ध भएको छ। जोगमाई खोलाको डाइभर्सनमा क्षति पुगेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो। इलाम–झापा फास्ट ट्र्याकअन्तर्गत पुवाखोलाको अस्थायी डाइभर्सन पनि बाढीले बगाउँदा आवागमन ठप्प बनेको छ।
सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने तयारी भए पनि भारतबाट सामग्री नआएकाले काम अघि बढ्न सकेको छैन। सडक अवरुद्ध हुँदा झापाबाट खाद्यान्न र उपभोग्य वस्तु बोकेर इलाम, पाँचथर र ताप्लेजुङतर्फ गएका दर्जनौं मालवाहक सवारी बाटोमै रोकिएका छन्।
इलाम उद्योग वाणिज्य संघले सडक अवरोध लम्बिए उपभोग्य वस्तुको अभाव हुन सक्ने भन्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ। व्यवसायीका अनुसार रोकिएका ट्रकमा रहेका सामग्रीसमेत वर्षाका कारण बिग्रिन थालेका छन्।
तमोर करिडोर पनि बाढीका कारण प्रभावित बनेको छ। धनकुटा–पाँचथर सीमास्थित नावा खोला तथा हेँवा खोलामा बाढी आएपछि सवारी सञ्चालन ठप्प भएको छ। यातायात व्यवसायीका अनुसार पाँचथर र ताप्लेजुङबाट धरान तथा विराटनगरतर्फ छुट्ने सवारी सञ्चालन हुन सकेको छैन।
पाँचथरमा मेची राजमार्ग बन्द हुनुका साथै फिदिम–फालोट, राँके–रवि, जोरपोखरी–एकतिन–मेमेङलगायत ग्रामीण सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छन्। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा नदी र पहिरो जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।
यता ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला निवारे टोलमा मंगलबार बिहान पहिरोले जीवनाथ बानियाँको घर पुरिएको छ। घर चर्किएपछि परिवार अघिल्लो रात नै सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति भने हुन पाएन। स्थानीयका अनुसार मेयरमान बानियाँसहित अन्य केही घर पनि उच्च जोखिममा रहेका छन्।
स्थानीय प्रशासनले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, क्षतिको विवरण संकलन गर्ने तथा सम्भावित विपद्को सामना गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।