विराटनगर । मेची राजमार्ग अन्तर्गत इलाम खण्डको सडक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिको कार्य युद्धस्तरमा अघि बढाउन नेपाल सरकारसँग जोडदार माग गरेको हो ।
सडकको दुरावस्थाका कारण पूर्वी पहाडको आर्थिक जीवनरेखा मानिने यस क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको महासंघको ठहर छ । सडक सञ्जाल बिग्रिएका कारण विशेषगरी कृषि उत्पादनहरू चिया, अलैँची, अदुवा, दूध, फलफूल र तरकारी समयमै बजारसम्म पुग्न नसक्दा किसान र व्यवसायी दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ । ढुवानी लागत असाधारण रूपमा बढेको छ भने सडकको दुरवस्थाले गर्दा पर्यटकको आवागमनमा समेत उल्लेख्य कमी आएको छ । जसका कारण उद्योग र व्यवसाय क्षेत्र प्रत्यक्ष मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “लामो समयदेखि सडक सुधार गर्ने प्रतिबद्धता दोहोर्याइए पनि अपेक्षित प्रगति हुन नसक्दा निजी क्षेत्र, कृषक तथा आम नागरिकमा गहिरो निराशा छाएको छ । यो अवस्था अब कुनै पनि हालतमा स्वीकार्य छैन ।” महासंघले अब केवल आश्वासन मात्र नभई धरातलमा परिणाम देखिने गरी काम हुनुपर्ने अडान राखेको छ ।
पूर्वी पहाडको व्यापार, पर्यटन र कृषिको मुख्य आधार रहेको मेची राजमार्गको सुधारका लागि आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गरी तत्काल काम अघि बढाउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । कोशी प्रदेशको समग्र आर्थिक गतिविधिलाई चलायमान राख्न यो सडक खण्डको स्तरोन्नति अपरिहार्य रहेको र यसमा गरिने ढिलासुस्तीले थप आर्थिक जोखिम निम्त्याउने चेतावनी समेत दिइएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।