लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा १४ प्रतिशतले बढे सवारी दुर्घटना, ४४० जनाको मृत्यु

कोशी प्रदेशमा १४ प्रतिशतले बढे सवारी दुर्घटना, ४४० जनाको मृत्यु

इटहरी । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनामा उल्लेख्य वृद्धि भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनाको संख्या १४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष प्रदेशका १४ जिल्लामा ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका छन्। यो अघिल्लो वर्षको ५ हजार ६२६ दुर्घटनाभन्दा ७८६ बढी हो।

दुर्घटनासँगै मानवीय क्षति पनि बढेको छ। दुर्घटनामा ४४० जनाको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको ४१८ जनाको तुलनामा २२ जना अर्थात् ५ प्रतिशत बढी हो। घाइते हुनेको संख्या पनि ९ हजार २४१ बाट बढेर १० हजार ६८७ पुगेको छ। अर्थात् १ हजार ४४६ जना वा १६ प्रतिशतले वृद्धि भएको छ।

तथ्यांकअनुसार दुर्घटनाको वृद्धिदर सबैभन्दा धेरै उदयपुरमा ५७ प्रतिशत रहेको छ। त्यहाँ दुर्घटनाको संख्या ३०० बाट बढेर ४७० पुगेको छ। त्यसपछि इलाममा ४८ प्रतिशत, खोटाङमा ३८ प्रतिशत, पाँचथरमा ३२ प्रतिशत र ताप्लेजुङमा २९ प्रतिशतले दुर्घटना बढेको छ।

प्रदेशकै सबैभन्दा धेरै दुर्घटना हुने झापामा दुर्घटनाको संख्या १ हजार २९६ बाट बढेर १ हजार ५१२ पुगेको छ। यद्यपि वृद्धिदर १७ प्रतिशत रहेको छ। मोरङमा ९ प्रतिशत र सुनसरीमा ८ प्रतिशतले दुर्घटना बढेको देखिएको छ। यी तीन जिल्लाले प्रदेशका कुल दुर्घटनाको ठूलो हिस्सा ओगटेका छन्।

यता धनकुटा, भोजपुर, तेह्रथुम र ओखलढुंगामा भने दुर्घटनाको संख्या घटेको छ। धनकुटामा १६ प्रतिशत, भोजपुरमा ५७ प्रतिशत, तेह्रथुममा ९ प्रतिशत र ओखलढुंगामा ११ प्रतिशतले दुर्घटना घटेको तथ्यांकमा उल्लेख छ।

मृत्युका हिसाबले पाँचथरमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ। त्यहाँ मृत्यु संख्या ५ बाट बढेर १३ पुगेको छ, अर्थात् १६० प्रतिशत वृद्धि भएको छ। सोलुखुम्बुमा ७५ प्रतिशत, उदयपुरमा ३९ प्रतिशत, खोटाङमा ३३ प्रतिशत र सुनसरीमा ३२ प्रतिशतले मृत्यु बढेको छ।

विपरीत रूपमा झापा, मोरङ, धनकुटा र भोजपुरमा मृत्यु संख्या घटेको छ। झापामा ७७ बाट ५९ मा झर्दै १९ प्रतिशतले कमी आएको छ भने मोरङमा ७ प्रतिशत, धनकुटामा ३१ प्रतिशत र भोजपुरमा ४० प्रतिशतले मृत्यु घटेको तथ्यांकले देखाएको छ।

घाइते हुनेको संख्या पनि अधिकांश जिल्लामा बढेको छ। ताप्लेजुङमा १०३ प्रतिशत, उदयपुरमा ४३ प्रतिशत, झापामा २४ प्रतिशत र सुनसरीमा १२ प्रतिशतले घाइते बढेका छन्। सबैभन्दा धेरै झापामा २ हजार ५६९, सुनसरीमा २ हजार ४३५ र मोरङमा २ हजार ४५५ जना घाइते भएका छन्।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले राजमार्ग केन्द्रित जिल्लामा दुर्घटना निरन्तर बढिरहेकाले सवारी गति नियन्त्रण, चालक अनुशासन, सडक पूर्वाधार सुधार तथा प्रभावकारी ट्राफिक व्यवस्थापनमा थप कडाइ आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।