लोड हुँदैछ...

मेनु

प्रदेशको अस्थिरता सत्तारुढ गठबन्धनको असमझदारीको उपज हो, प्रतिपक्षको होइन

प्रदेशको अस्थिरता सत्तारुढ गठबन्धनको असमझदारीको उपज हो, प्रतिपक्षको होइन

विराटनगर। कोशी प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल ‘नेपाली कम्युनिष्ट पार्टी’ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारहरूमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता सत्तारुढ एमाले–कांग्रेस गठबन्धनकै आन्तरिक असमझदारीको परिणाम भएको बताउनुभएको छ।

प्रदेशमा भइरहेको राजनीतिक उथलपुथल र सरकार परिवर्तनको खेलप्रति आफ्नो धारणा सार्वजनिक गर्दै नेता आङ्बोले अहिलेको अस्थिरतामा प्रतिपक्षी दलको कुनै भूमिका नरहेको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकारहरू अस्थिर बन्नुमा प्रतिपक्षी दल होइन, सत्तारुढ गठबन्धन एमाले र कांग्रेसबीचको आपसी असमझदारी नै मुख्य कारक हो।”

गत भदौ २३–२४ को ‘जेन्जी विद्रोह’ पछि नै अहिलेको गठबन्धन असैद्धान्तिक र अपवित्र पुष्टि भइसकेको उल्लेख गर्दै नेता आङ्बोले सोही समयमा यो गठबन्धन विघटन हुनुपर्नेमा कार्यकालको अन्त्यतिर आएर अस्थिरता निम्त्याउनु गलत भएको टिप्पणी गर्नुभयो।

सत्तारुढ गठबन्धनमार्फत नै नीति, कार्यक्रम र बजेट पारित भइसकेको सन्दर्भमा बाँकी समय पनि एमाले र कांग्रेस मिलेरै सरकार सञ्चालन गर्नु उपयुक्त हुने उहाँको सुझाव छ। “नेपाली कम्युनिष्ट पार्टी सदनमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन तयार छ,” उहाँले भन्नुभयो, “तर यदि एमाले–कांग्रेस मिल्नै नसक्ने, सरकार रिक्ततामा जाने वा संवैधानिक संकट आउने परिस्थिति बनेमा हामी निकास दिन तयार छौँ।”

नेता आङ्बोले यस्तो संकटको अवस्थामा सरकार बाहिर बसेर समर्थन गर्ने वा राजनीतिक स्थिरता, सरकारी नीतिमा परिमार्जन र पूरक बजेट ल्याउने लगायतका निश्चित सर्तसहित सम्मानजनक सत्ता साझेदारी गर्न सकिने विकल्प पनि अघि सार्नुभयो।

कोशी प्रदेशको विशेष सन्दर्भमा चर्चा गर्दै उहाँले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठित वर्तमान सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले प्रदेश सभा विघटन हुन सक्ने भनी फैलाएको हल्लाप्रति कडा आपत्ति जनाउनुभयो। “यो हल्ला कि त अज्ञानता हो, कि त गलत नियतको उपज हो,” आङ्बोले भन्नुभयो।

संवैधानिक व्याख्याको स्मरण गराउँदै उहाँले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत बनाउने वा बहुमत प्रदेश सभा सदस्यहरूको समर्थनमा सरकार बन्ने सम्भावना भएसम्म प्रदेश सभा विघटन नहुने सर्वोच्च अदालतको नजिर रहेको स्पष्ट पार्नुभयो। यस्ता अतिरञ्जित हल्लाको पछि नलाग्न उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।