विराटनगर । विराटनगर स्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा बनेका संरचना हटाउन सोमबारदेखि डोजर चल्ने चेतावनीपछि विराटनगरका व्यवसायीहरूले धमाधम सटर खाली गर्न थालेका छन्।
अस्पताल प्रशासनले सात दिने अल्टिमेटम दिएपछि शनिबारदेखि नै व्यवसायीहरूले सामान सार्न थालेका हुन्।
विराटनगर–७ स्थित अस्पताल चोकको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन्। ती संस्थाले ३० भन्दा बढी सटर निर्माण गरी तेस्रो पक्षलाई भाडामा दिएका थिए।
अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि ती संरचना हटाउन पटक–पटक ताकेता गर्दै आएको थियो। तर, सम्बन्धित संस्थाले अटेर गरेको कारण अतिक्रमण हट्न सकेको थिएन।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पताल क्षेत्रको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए। त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाको समयसीमा सोमबार सकिँदैछ।
अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएको छ। त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा संरचना निर्माण गरी भाडामा लगाएको छ। गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि अस्पतालको जग्गामा सडक मोहडातर्फ सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका छन्।
अस्पताल प्रशासनले सबै संरचना हटाएर आफ्नो गुरुयोजनाअनुसार अस्पताल विस्तार तथा अन्य स्वास्थ्य सेवा सञ्चालनका लागि उक्त जग्गा उपयोग गर्ने तयारी गरेको जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।