लोड हुँदैछ...

मेनु

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, सेमिफाइनल समीकरण पूरा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, सेमिफाइनल समीकरण पूरा

विराटनगर फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अर्जेन्टिनाको जितसँगै फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पनि पूरा भएको छ । आइतबार बिहान भएका दुई क्वार्टरफाइनल खेलपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।

स्विट्जरल्यान्डविरुद्धको रोमाञ्चक खेलमा अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे । खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलिस्टरले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो । रिकार्डो रोड्रिग्वेजको पासमा डान एनडोयेले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए । तर, ७२औं मिनेटमा ब्रेल एम्बोलो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा खुम्चिएको थियो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १० खेलाडीमा सिमित स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले अतिरिक्त समयमा दुई गोल थप्यो । जुलियन अल्भारेजले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए भने खेलको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे ।

अर्जेन्टिना विश्वकपको इतिहासमा सातौंपटक सेमिफाइनलमा पुग्न सफल भएको हो । तीन पटकको विश्वविजेता अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डको सामना गर्नेछ । आइतबार बिहानै भएको अर्को खेलमा जित निकाल्दै इंग्ल्यान्डले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ । योसँगै अब सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको रोचक भिडन्त हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds