विराटनगर । गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री नीशा मेहताले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गाको संयुक्त निरीक्षण गरेका छन् । त्यसक्रममा स्वास्थ्यमन्त्री मेहताले एक हप्ताभित्र सार्वजनिक जग्गा खाली गराउने बताएकी छिन् ।
वर्षौँदेखि विभिन्न संघ–संस्थाले अस्पतालको जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएपछि आइतबार साँझ स्थलगत निरीक्षणमा पुग्नुभएकी मन्त्री मेहताले त्यस्ता संरचना हटाउन एक हप्ते ‘अल्टिमेटम’ दिएकी हुन् ।
अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने समयसीमा असार २२ गते नै सकिएको थियो । म्याद सकिएको दुई दिनपछि स्वास्थ्यमन्त्री मेहता र गृहमन्त्री सुधन गुरुङसहितको टोलीले आज साँझ अस्पतालको परिसरलाई एक फन्को लगाएका थिए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री मेहताले भनिन्, ‘अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दुःखद हो । अबको एक हप्ताभित्र यो ठाउँ खाली हुन्छ, हामी यसलाई कार्यान्वयन गरेरै छाड्छौँ ।’
कोशी अस्पतालको नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएका छन् । सामाजिक सेवाको नाममा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी सटर निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेका छन् ।
अस्पतालको आन्तरिक अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा ओगटेर मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । त्यस्तै, रेडक्रसले २ कट्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार बुझ्ने गरेको छ । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरूबाट उल्लेख्य आम्दानी गरिरहेका छन् ।
स्वामित्व आफ्नो नाममा भए पनि अस्पतालले पूर्वाधार विस्तारका लागि जग्गा अभाव खेपिरहेको छ । रोचक कुरा त के छ भने, जग्गा उपभोग गर्न नपाए पनि अस्पतालले वर्षौँदेखि सरकारलाई राजस्व भने तिरिरहेको छ । जनसम्पर्क अधिकारी नवराज लुइँटेलका अनुसार अस्पतालले २०८३ असारसम्मको १० लाख ५७ हजार ८६० रुपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि यसअघि नै संरचना खाली गर्न निर्देशन दिइसकेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गत शुक्रबार सरोकारवाला पक्षलाई बोलाएर एक हप्ताभित्र जग्गा छाड्न स्पष्ट निर्देशन दिएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले मन्त्रीको प्रतिबद्धतापछि अब प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।