लोड हुँदैछ...

मेनु

एसियन हाइवे निर्माण सुस्त, सम्झौता अबधि सकिनलाग्दा ४६ प्रतिशत मात्रै काम

एसियन हाइवे निर्माण सुस्त, सम्झौता अबधि सकिनलाग्दा ४६ प्रतिशत मात्रै काम

विराटनगर । एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक निर्माणको सम्झौता अबधि सकिनलाग्दा आधा पनि काम सकिएको छैन ।

पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको सडकको ठेक्का सम्झौताको अवधि सकिन तीन महिना बाँकी रहँदा आयोजनाको समग्र भौतिक प्रगति ४६ प्रतिशत मात्र भएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनामा काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकमध्ये दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ। निर्माण कार्य सुस्त हुँदा स्थानीय बासिन्दा, व्यवसायी र यातायात व्यवसायीले लामो समयदेखि धुलो, हिलो र अव्यवस्थित सडकको सास्ती खेपिरहेका छन्।

सडकसँगै निर्माण भइरहेका कन्काई, बिरिङ र निन्दा नदीमाथिका तीनवटै ठूला पुलको प्रगति अझ कमजोर छ। प्याकेज–४ अन्तर्गत निर्माणाधीन यी पुलहरूको समग्र भौतिक प्रगति हाल २७ प्रतिशत मात्र भएको छ।

आयोजनाका अनुसार पुलमा प्रिकास्ट ग्रिडर जडानको काम भइरहेको छ भने स्टिल आर्क संरचना निर्माण आगामी सेप्टेम्बरदेखि सुरु गर्ने तयारी छ। ठूला क्रेनमार्फत ग्रिडर लन्चिङ भइरहेको भए पनि निर्माणले लक्ष्यअनुसार गति लिन सकेको छैन।

काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको सडक निर्माणको जिम्मा एभ्रास्कोन–कालिका संयुक्त उपक्रमले १० अर्ब ६ करोड रुपैयाँमा लिएको हो। कम्पनीले २०८० माघ १९ गतेदेखि निर्माण सुरु गरेको थियो।

निन्दा, बिरिङ र कन्काई नदीमाथिका ३०० मिटरभन्दा लामो पुल निर्माणको जिम्मेवारी कोभेक–क्रेजसी–टुन्डी संयुक्त उपक्रमले ५ अर्ब ९७ करोड रुपैयाँमा पाएको छ। दुवै निर्माण कम्पनीसँग २०८० कात्तिक २ गते सम्झौता गरिएको थियो।

कार्य प्रारम्भ भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गर्नुपर्ने व्यवस्था रहेपनि हालको प्रगति हेर्दा तोकिएको समयमै काम सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ। राष्ट्रिय गौरव तथा क्षेत्रीय व्यापारिक कनेक्टिभिटीसँग जोडिएको एसियन हाइवेको यो खण्ड समयमै सम्पन्न नहुने संकेत देखिएपछि लागत वृद्धि, म्याद थप र निर्माण व्यवस्थापनमाथि प्रश्न उठ्न थालेका छन्।

सडक निर्माणमा ढिलाइ हुँदा पूर्वी नेपालका औद्योगिक तथा सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र आवागमनमा अपेक्षित लाभ प्राप्त गर्न अझ समय लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।