लोड हुँदैछ...

मेनु

अभिषेक गिरी प्रकरण : कारागारका कर्मचारीसहित थप तीन पक्राउ

अभिषेक गिरी प्रकरण : कारागारका कर्मचारीसहित थप तीन पक्राउ

विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरी प्रकरणमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचन्द्र यादवसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने अन्यमा कारागारभित्र तरकारी आपूर्तिकर्ता विजय कामत र अभिषेक गिरीका सहयोगी दीपक कार्की रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानअनुसार, गिरीले कारागारको मेसका लागि तरकारी लैजाने व्यक्तिहरूलाई प्रयोग गरेर भित्रबाट नगद बाहिर निकाल्ने गरेका थिए । अनुसन्धानमा खटिएका एक उच्च सुरक्षा अधिकारीले भने, “मेसका लागि तरकारी लिएर भित्र जानेहरू मार्फत गिरीले कैदीबन्दीबाट संकलित रकम बाहिर पठाउने गरेको भेटिएको छ । अहिले हामी गलैँचा र मुडा बिक्रीबाट हुने आम्दानीका विषयमा पनि सूक्ष्म अनुसन्धान गरिरहेका छौँ ।”

मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । “अहिले घटनाको अनुसन्धानका लागि हामीले उनीहरूलाई बोलाएका हौँ,” उनले भने, “थप अनुसन्धान भइरहेको छ ।”

गिरीमाथि कारागारका कैदीबन्दीले पाउने सरकारी सुविधा र उनीहरूको श्रमको कमाइ समेत जबरजस्ती असुल्ने गरेको आरोप छ । हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँका दरले सिधा भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।
यसबाहेक सरकारले प्रति कैदी वार्षिक रूपमा जाडो र गर्मीको लुगाका लागि २५÷२५ सय गरी कुल ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । कारागारभित्र करिब ५ सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको आम्दानी र सरकारी भत्तासमेत गिरीले तरकारी पुर्‍याउनेहरू मार्फत ‘क्यास’ संकलन गर्न लगाएर लिने गरेको सुरक्षा स्रोतको दाबी छ ।

यसै प्रकरणलाई लिएर प्रहरीले शनिबार नै कारागारका नाइके राकेश यादवसँग समेत बयान लिएको छ । कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गरेको सूचनाका आधारमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शनिबार नाइके यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याउँदा कैदीबन्दीले नाइकेको सरुवा गर्न लागिएको भन्दै विरोध गरेका थिए । उनीहरूले केही बेर नाराबाजीसमेत गरेका थिए । डीएसपी मिश्रका अनुसार गिरीलाई सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।