लोड हुँदैछ...

मेनु

झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा बृद्धि

झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा बृद्धि

विर्तामोड । नेपालको प्रमुख धान उत्पादन जिल्ला झापामा यो वर्ष हालसम्म ७७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्षको यही अवधिको तुलनामा यस वर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको हो।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार साउन ४ गतेसम्म जिल्लाको ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। सुरुआती चरणमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि लगातार वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका हुन्।

सुरुमा पानीको अभावका कारण रोपाइँ केही ढिलो भएपनि अहिले जिल्लाभर तीव्र गतिमा रोपाइँ भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रूपमा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको उनले बताए।

हाल गौरीगञ्ज क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको छ। साउन महिनाको अन्त्यसम्म जिल्लाका अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार झापामा प्रत्येक वर्ष करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। यस वर्ष समयमै वर्षा भएकाले धान उत्पादनसमेत राम्रो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।