लोड हुँदैछ...

मेनु

ताप्लेजुङमा पहिरोले दुई घरमा क्षति

ताप्लेजुङमा पहिरोले दुई घरमा क्षति

ताप्लेजुङ । ताप्लेजुङमा भीषण वर्षापछि गएको पहिरोले दुई घरमा क्षति पुर्‍याएको छ। जिल्लाको सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा मङ्गलबार बिहान गएको पहिरोले दुई घरमा क्षति पुर्‍याएको हो।

साब्लाखु प्रहरी चौकीका अनुसार कालिखोला निभारेका जीवनाथ बानियाँ र मेहरमान बानियाँको घरमा पहिरोले क्षति पुर्‍याएको हो। पहिरोले घरमा पूर्ण रूपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

कालिखोलाका वडा सदस्य टइन्द्रप्रसाद चापागाईंका अनुसार जीवनाथको घर पहिरोले बगाएको छ भने मेहरमानको घर बस्न नमिल्ने गरी क्षति भएको छ।

जीवनाथ बानियाँको घरमा उहाँकी बुहारी सीता र एक नातिनी मात्रै बस्दै आएका थिए। उनीहरू सोमबार नै आफन्त दिलबहादुर बानियाँको घरमा गएर बसेकाले मानवीय क्षति हुनबाट जोगिएको वडा सदस्य चापागाईंले बताए ।

चापागाईंका अनुसार नाबालिका छोरीसहित जीवनाथकी बुहारी सीता हाल दिलबहादुरकै घरमा आश्रय लिएर बस्दै आउनुभएको छ। यस्तै, मेहरमानको परिवार भने सुरक्षित स्थानमा रहेको आफ्नै पशु गोठमा बस्दै आएको छ। उहाँको परिवारमा हाल सात जना रहेको वडा सदस्य चापागाईंले जानकारी दिए ।

पहिरोले जीवनाथको घर बगाउँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री नष्ट भएका छन्। घर संरचना र सामग्रीसहित करिब नौ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

मेहरमानको भने घरभित्र रहेका सामग्री निकालेर सुरक्षित गर्न सकिएकाले करिब छ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको वडा सदस्य चापागाईंले बताउनुभयो। पहिरोले मकैलगायत खाद्यान्न बाली तथा नगदेबाली अलैँचीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

घर नै पहिरोले बगाएपछि उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि साब्लाखु प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली कालिखोला पुगेको थियो। पहिरो गएको कालिखोला क्षेत्र साब्लाखुबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।