विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल सेवा सञ्चालनमा आएको छ।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै कार्गो रेल सेवा सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको सेवाअन्तर्गत कोलकाता बन्दरगाहबाट पहिलो रेल र्याकमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजको कच्चा पदार्थ बोकेको रेल आउन लागेको हो । सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर गरेका थिए।
रेलमा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिट क्षमताका कन्टेनर रहेको बताइएको छ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ, जसले ढुवानीको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्नेछ।
कार्गो रेल सेवा सुचारु भएको जानकारी दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कोलकोत्ताबाट हिँडेको रेल भोली वा पर्सीसम्म विराटनगर आइपुग्ने जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका थिए । २०८० जेठमा एउटा कार्गो रेल आएपनि त्यसपछि सेवा नियमित भएको थिएन ।
यो सेवा नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत भारत सरकारले गरेको नीतिगत संशोधनको कार्यान्वयन हो। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले ४ नोभेम्बर २०२५ मा ईसीटीएस नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो।
कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा कोलकाता र हल्दियाबाट जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर भन्सारसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। आवश्यक समन्वयपछि शुक्रबारदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। यसअघि यस्तो सुविधा वीरगञ्जसम्म मात्र सीमित थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा लागत कम, सुरक्षा बढी र ढुवानी अवधि करिब २४ घण्टामै सीमित हुने भएकाले आयात प्रक्रिया थप सहज हुनेछ।
कार्गो रेल सेवा सञ्चालन भएपछि बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन शुल्क, बिलम्ब शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च घट्ने अपेक्षा गरिएको छ। साथै, समग्र व्यापार पारवहन लागत कम भई नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनुका साथै पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।