लोड हुँदैछ...

मेनु

विराटनगर आन्तरिक राजश्व कार्यालयको कर असुलीमा बृद्धि

विराटनगर आन्तरिक राजश्व कार्यालयको कर असुलीमा बृद्धि

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय वृद्धि गरेको छ।

कार्यालयले समग्र वार्षिक राजस्व संकलनमा ७.१८ प्रतिशतले वृद्धि गर्दै १० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीका अनुसार आर्थिक वर्ष २०८२–८३ का लागि १२ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। वर्षभरिमा १० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ८५.१५ प्रतिशत हो।

यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा कार्यालयले ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा ७.१८ प्रतिशतले राजस्व वृद्धि भएको उप्रेतीले जानकारी दिए।

असार महिनामा भने कार्यालयले आयकर संकलनमा लक्ष्यभन्दा बढी सफलता हासिल गरेको छ। असार महिनामा ९४ करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य रहेकामा १ अर्ब रुपैयाँ आयकर संकलन भएको छ, जुन लक्ष्यको १०६ प्रतिशत हो।

त्यस्तै, असार महिनाको कुल राजस्व संकलनतर्फ १ अर्ब ८३ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो। कार्यालयले सो अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको, जुन लक्ष्यको ९०.४५ प्रतिशत रहेको प्रमुख कर अधिकृत उप्रेतीले बताए।

असार महिनामा आयकर संकलनमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएपनि अन्य शीर्षकमा अपेक्षित राजस्व उठ्न नसक्दा समग्र वार्षिक लक्ष्य भने पूरा हुन सकेन। तथापि, अघिल्लो वर्षको तुलनामा राजस्व संकलनमा भएको वृद्धि सकारात्मक संकेत भएको कार्यालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।