लोड हुँदैछ...

मेनु

काँकडभिट्टा नाकाबाट ९.७४ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काँकडभिट्टा नाकाबाट ९.७४ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विर्तामोड भारत–नेपाल सीमास्थित नयाँ मेची पुलबाट ९ लाख ७४ हजार भारतीय रुपैयाँ, एउटा कार र दुई जनालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ।

बरामद गरिएको रकमको स्रोत पुष्टि गर्न नसकेपछि उनीहरूलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार दिउँसो करिब ४:२५ बजे पानीट्याङ्कीस्थित नयाँ मेची पुलमा नियमित जाँचका क्रममा एसएसबीको सीमा गुप्तचर टोली (बीआईटी) ले भारतबाट नेपालतर्फ आउँदै गरेको SK०१PB ९४६५ नम्बरको महिन्द्रा एक्सयूभी–३०० कार रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा चालकको सिटमुनि तथा गाडीका अन्य गोप्य भागबाट ९ लाख ७४ हजार भारतीय रुपैयाँ बरामद भएको बताइएको छ। पक्राउ परेका ४९ वर्षीय चालक जीवन विश्वकर्माले बरामद रकममध्ये ५ लाख २४ हजार भारतीय रुपैयाँ आफ्नो भएको दाबी गर्दै सासुको उपचारका लागि नेपाल ल्याउँदै गरेको बताएका छन्। त्यस्तै, गाडीमा सवार २५ वर्षीय राहुल नेपालले ४ लाख ५० हजार भारतीय रुपैयाँ आफ्नो भएको दाबी गर्दै नेपाल भ्रमणका लागि रकम बोकेको बताएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना सिक्किमको गान्तोकस्थित ट्रु भ्याली क्षेत्रमा चारपाङ्ग्रे सवारीसाधन खरिद–बिक्री व्यवसायमा संलग्न रहेको र प्रयोग गरिएको गाडी ग्राहकको भएको बताएका छन्। तर, एसएसबीले बरामद रकमको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा आवश्यक कागजात माग्दा उनीहरूले सन्तोषजनक प्रमाण पेश गर्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

त्यसपछि बरामद गरिएको ९ लाख ७४ हजार भारतीय रुपैयाँ, महिन्द्रा एक्सयूभी–३०० कार तथा दुवै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि पानीट्याङ्की भन्सार कार्यालयको जिम्मा लगाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।