विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आयमा सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा महानगरपालिकाले ६५ करोड २७ लाख रुपियाँ आम्दानी गरेको हो ।
महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६२ करोढ ७७ लाख आन्तरिक आम्दानी गरेको थियो । गएको आर्थिक वर्षमा महानगरपालिकाले २ करोड ५० लाख रुपियाँ बढी आम्दानी गरेको हो ।
विराटनगरले एकीकृत सम्पत्ति कर, व्यवसाय कर र बहाल करतर्फ सुधार भएका कारण आन्तरिक आम्दानी वृद्धि भएको जनाएको छ ।
विराटनगर महानगरपालिकाले आन्तरिक आम्दानीमा अघिल्लो वर्षको तुलनामा सुधार गरेपनि संशोधित लक्ष्यको तुलनामा झण्डै ४९ कम राजश्व संकलन गरेको हो । महानगरपालिकाले गत आर्थिक वर्षमा १ अर्ब ४२ करोड रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर जेनजी आन्दोलन र अन्य कारण देखाउँदै अपेक्षा अनुसार राजश्व संकलन गर्न नसकिने भएपछि गत पुस महिनामा नगरसभाले संशोधित अनुमान पारित गरेको थियो । संशोधित अनुमानमा सुरुको लक्ष्यमा करिब १५ करोड रुपियाँ घटाएर १ अर्ब २७ करोड रुपियाँ आम्दानी हुने भनिएकोमा करिब ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको जनाएको छ ।
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷८४ मा १ अर्ब २७ करोड रुपियाँ आम्दानी हुने लक्ष्य निर्धारण गरेको प्रशासकीय अधिकृत अर्जुन थपलियाले जानकारी दिए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।