लोड हुँदैछ...

मेनु

चालु वर्षमा कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २५ करोड

चालु वर्षमा कोशी प्रदेशको बजेट खर्च २६ अर्ब २५ करोड

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ मा कुल २६ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ।

प्रदेश सरकारले चालु वर्षको लागि ३६ अर्ब ९ करोड ८५ लाखको बजेट ल्याएकोमा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च गरेको प्रारम्भिव विवरण प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले दिएको छ ।

सरकारले स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई मध्यनजर गर्दै मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोड रुपैयाँमा सीमित गरेको थियो । सरकारले चालुतर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ।

पुँजीगत शीर्षकमा विनियोजित १७ अर्ब १४ करोड ६५ लाख रुपैयाँमध्ये ७२.२४ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। मन्त्रालयगत खर्चतर्फ सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० अर्ब ६४ करोड ४३ लाख रुपैयाँमध्ये ७ अर्ब ४५ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ।

त्यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ, स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड रुपैयाँ, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख रुपैयाँ तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६४ करोड ६७ लाख रुपैयाँ खर्च गरेका छन्।

प्रदेश सरकारले पछिल्ला वर्षहरूको तुलनामा पुँजीगत खर्चमा सुधार देखिए पनि विनियोजित बजेटको शतप्रतिशत कार्यान्वयन गर्न भने अझै चुनौती कायम रहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds