धनकुटा । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षयता डेंगी संक्रमणको संख्या निरन्तर घट्दै गएको देखिएको छ। यद्यपि वर्षायाम अझै बाँकी रहेकाले संक्रमण जुनसुकै बेला फेरि बढ्न सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशभर १८ हजार ६७ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। यो संख्या आर्थिक वर्ष २०८१/०८२ मा घटेर ६ हजार ८६३ मा झरेको थियो। चालु आर्थिक वर्ष २०८२/०८३ को असार तेस्रो सातासम्म भने ४ हजार ८२३ जनामा मात्रै संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिए।
निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा तराईका दुई जिल्लामा ३ हजार ७६२ र पहाडी तथा हिमाली ११ जिल्लामा १ हजार ६१ जना संक्रमित भएका छन्। सबैभन्दा बढी मोरङमा २ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको छ भने इलाम र सोलुखुम्बुमा सबैभन्दा कम, समान चार–चार जना संक्रमित भेटिएका छन्।
धनकुटामा पनि डेंगी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। तीन वर्षअघि जिल्लामा ४८३ जना संक्रमित भेटिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या १५६ मा झरेको थियो। चालु आर्थिक वर्षको हालसम्म ५० जनामा मात्रै संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार संक्रमण घट्दै गएको तथ्यांक उत्साहजनक भए पनि ढुक्क भएर बस्ने अवस्था छैन। वर्षायाममा लामखुट्टेको प्रजनन तीव्र हुने भएकाले घर–आँगन तथा वरपर पानी जम्न नदिन, लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न, वातावरणीय सरसफाइमा ध्यान दिन र लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन आवश्यक रहेको उनले बताए।
उनले वर्षा अझै जारी रहने भएकाले डेंगी संक्रमणले जुनसुकै बेला महामारीको रूप लिन सक्ने जोखिम रहेको उल्लेख गर्दै जिल्ला तथा स्थानीय तहसँग समन्वय गरेर रोकथाम र नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बञ्जाडेले जिल्ला समन्वय समितिको सहकार्यमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको बताइन्। उनका अनुसार स्थानीय तहहरूले पनि आ–आफ्नो क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिएका छन्।
डेंगी एडिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यसको प्रमुख लक्षणमा उच्च ज्वरो, टाउको तथा आँखाको पछाडिको भाग दुख्ने, शरीर र जोर्नी दुख्ने, अत्यधिक कमजोरी महसुस हुने तथा वाकवाकी लाग्ने समस्या पर्दछन्। यस्ता लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन चिकित्सकहरूले आग्रह गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।