विराटनगर । विराटनगरमा नक्कली नागरिकता र सरकारी कागजात बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी एक महिलाको नागरिकता नक्कली भएको पाइएपछि खोजी गर्दै जाँदा प्रहरीले यस गिरोहलाई समात्न सफल भएको हो ।
सप्तरीको डाँढा ३ स्थायी घर भई हाल विराटनगर–१४ बस्ने ३० वर्षीया मनीषा कुमारी कामत सोमबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन् । उनले पेश गरेको ना.प्र. १०२२÷३०० नम्बरको नागरिकतामा शंका लागेर जाँच गर्दा उक्त नागरिकता नक्कली भएको खुलेको थियो ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा कामतले उक्त नागरिकता विराटनगर–६ का धनदेव राजवंशी र विराटनगर–११ का अशोक कुमार श्रेष्ठले बनाइदिएको खुलासा गरेकी थिइन् । लगत्तै प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा खटिएको टोलीले विराटनगर–११ महेन्द्र चोकस्थित श्याम पोखरेलको घरमा धनदेव राजवंशीले सञ्चालन गरेको ‘न्यू डोली फोटो सर्भिसेज’ मा छापा मारेको थियो । त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
उक्त स्टुडियोमा छापा मारी नक्कली कागजात बनाउने गिरोहका मुख्य नाइके विराटनगर–६ का धनदेव राजवंशी र विराटनगर–११ का अशोक कुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीले खानतलासीका क्रममा उक्त स्टुडियोबाट १२ थान तयारी अवस्थाका नक्कली नागरिकता बरामद गरेको छ । यस्तै, दुई थान सवारी चालक अनुमति पत्र , दुई थान मोबाइल र एक थान कम्प्युटर सीपीयू पनि जफत गरिएको छ ।
गिरोहले जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ताका प्रमाणपत्रहरू समेत किर्ते गर्ने गरेको पाइएको छ । प्रहरीले १० थान खाली जन्मदर्ता, एक थान विवाह दर्ता र एक थान मृत्यु दर्ताका खाली प्रमाणपत्रहरू बरामद गरेको छ । यस्तै, विवरण भरिएका १÷१ थान जन्म, विवाह र मृत्यु दर्ताका प्रमाणपत्रसमेत फेला परेका छन् । स्टुडियोबाट ‘न्यू डोली फोटो सर्भिसेज’ लेखिएको रबर स्ट्याम्प र ३ हजार ५ सय ४० रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजवंशी र श्रेष्ठमाथि सरकारी कागजात किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको छ । मनीषाले उक्त नागरिकता कति रकम तिरेर बनाइन् र यो सञ्जालमा अन्य को–को संलग्न छन् भन्नेबारे प्रहरीले सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।